Advertisement Ad

पसिनाको सुगन्ध

Advertisement Ad

– राज माङ्लाक

कसले बनाए
हिंड्दाहिंड्दैको पहाडलाई टक्क रोकेर
यति सुन्दर र बस्न लायक आवादी
कस–कसले रोपे होलान्
कोदो र घैयाधानका बालामा अडिबस्ने
मसिनु–मसिनु जिन्दगी

सबैभन्दा पहिले
मनको धागो वारिपारि टाँगेर
कसले सभ्यताको तान बुन्यो होला
र, त्यो पहिलो लुगामा
कुनकुन तरुनी–तन्नेरी सजिए होलान्
आखिर कसले गरेका हुन् ?
रुखका हाँगा–हाँगामा फलेका याङ्बेनका परिकारलाई
जिब्राको टुप्पोमा झुण्ड्याउने काम

भस्मे पाखाको चेप–चेपमा
लुकिबसेका किनिमाको स्वादलाई
औंलाले डोर्याउँदै
कस–कसले भित्र्याएका हुन् घरको भान्छासम्म

कसले बनाए
आखिर कसले बनाएका हुन्
छत्तिस तालभन्दा बढी निस्किने च्याब्रुङ
जो सुब्बा र सुब्बेनी
ती तालको लयमा उभिंदा
आँगनको डिलको काँधलाई सधैं हम्मेहम्मे पर्छ

हेर्नुस् त
आफ्ना सन्ततिका लागि यति काम गरेर छोड्न
पुर्खाहरुलाई कति वर्ष लाग्यो होला
कतिको ज्यानको सिँढी लाएर मात्र
कठिन र अनकन्टार बाटो हिँडेर
बल्ल यो सभ्यता यहाँसम्म आइपुगेको होला

हिजोअस्ति घुम्दै आएर
तपाईं कत्ति सजिलै भन्नुहुन्छ कि !
यो कलकलाउँदो हावा मेरो पनि हो
यहाँको विश्वासले बनेका ढुङ्गा र माटो
मेरा पनि अंशका टुक्रा हुन्

अझ कत्ति सजिलै भनिसिन्छ
यो जमिन मेरो धनीपुर्जामा छ

तर यति नै बेला
एउटा आदिवासी (आदिम) रुख
तल याक्साको खरको छानो छेउबाट
आँखाको स्यानो त्यान्द्रोमा झुण्डिएर
पर … परसम्म हेरिबस्छ


लामो–लामो सास तान्दै
आफ्ना पुर्खाहरुको युगौंदेखिको
त्यो पसिनाको सुगन्ध
झलझलि देखिरहेको छ ।