Advertisement Ad

गोपाल किराती सहित दश जना पहिचान पक्षधर आन्दोलनकारी पक्राउ

Advertisement Ad

२६ मंसिर २०८०, पाँचथर। नेकपा एमालेको ‘झुलाघाट–चिवाभज्याङ समृद्धिका लागि संकल्प यात्रा’ लाई अवरोध गर्ने क्रममा रहेका गोपाल किराती सहित दश जना पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

पूर्वमन्त्री समेत रहेका नेता किराती खोटाङको हलेसीबाट पक्राउ परेका हुन्। किराती सहित खोटाङको हलेसीबाट राजेश राई, गन्धमान राई, बिजय राई, खोटाङको नुनथलाबाट उदिम राई, त्यस्तै भोजपुरबाट बिदुर राई, मीना राई, दिनेश राई र पनन राई पक्राउ परेका उदयपुरका पत्रकार राजेन्द्र दुष्टले जानकारी दिए। यता कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले नेता किराती सहित दश जनालाई पक्राउ गरिएको जनाए।

नेता किरातीले केहि दिन अघि मध्यपहाडि लोकमार्ग बन्दबारे जानकारी दिन प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले गरेको पत्रकार सम्मेलनमा कोशी प्रदेशको पक्षमा हस्ताक्षर गर्ने ८२ प्रदेश सांसद र केपी शर्मा ओली सहित केहि नेतालाई रोक्ने अभिव्यक्ति दिएका थिए। नेता किरातीले आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने तर पहिचान पक्षधरलाई बारम्बार हियाउने केपी शर्मा ओलीको चिहान खनिएको चेतावनी दिएका थिए।

किराती सहितका नेताहरु आन्दोलनकै क्रममा पक्राउ परेका हुन्। आन्दोलनकर्मीले नेकपा एमालेका अध्यक्ष ओली सम्मिलित संकल्प यात्रालाई रोक्ने उदेश्य सहित मध्यपहाडी लोकमार्गको घुर्मी–लेगुवा, लेगुवा–चिवाभञ्ज्याङ सडक अवरुद्ध गर्नेदेखि विभिन्न स्थानमा राँके जुलुस सहितका कार्यक्रम गरिरहेका छन्।

नेकपा एमालेको ‘झुलाघाट–चिवाभज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मंगलबार कोशी प्रदेशमा प्रवेश गर्नेछ।