Advertisement Ad

आशीर्वाद

Advertisement Ad

– दिपा मेवाहाङ राई

तैंले देखेको आकाश
धेरै फराकिलो होस्
जहाँ बादलको एक थुम्का पनि कहिल्यै नपरोस्
झरीको एक बूँद पनि नझरोस्
सधैं खुली राखोस् तेरो आकाश
तँ खुल्नु भनेको म पनि खुल्नु हो
मेरो लागि सिङ्गो आकाश भनेकै तैं होस् ।

जसरी लहरा झाँगिदै झाँगिदै पुग्छ पर.. पर..
र, फैलाउँछ आफ्नो साम्राज्य
त्यसै गरि फैलिँदै जानु
इष्ट दाहिने बनाएर
शत्रुलाई पनि मित्र बनाएर

बाटामा कतै फुलेको फूल देखे
बोक्नु टिपेर खल्तीमा
लगेर चढाउनु देउरालीमा
बुझाउनुपर्ने माङ्हरुले बुझ्नेछन्
र, मागिदिनेछन् संसार जित्न सक्ने बल

नभुल्नु कहिल्यै माटोलाई
जसको सुगन्धमा हाम्रो अस्तित्व छपक्कै भिजेको छ
नबिर्सिनु हिंडेको बाटोलाई
जसको पद्चापमा जिन्दगीको रेखा कोरिएको छ

थाहा छ, तेरो सपना
रातमा झरिजाने पारीजात होइन
बर्खामासमा उर्लि आउने तमोरको बहाव पनि होइन
हुन् त बरु जरुवामा उम्रीरहने त्यो मूल
जो बार्हैमास फुटिरहन्छ.. फुटिरहन्छ..

यतकतै आकाश खुलेको देखे
म बुझ्नेछु तँ खुसी छस्
देउरालीमा चढाएको पाती आलै देखे
बुझ्नेछु माङ्को आशीर्वाद शिरमा बसिरहेको छ
बाडुलीले हिक्का छुटाए
सम्झिनेछु सम्झनामा म अझै बाँकि नै रहेछु भनेर

तँ जता जता पुगे पनि
संसारलाई फन्को लाउँदालाउँदै
थाकेर सुस्ताउने चौतारीको याद आएमा
फर्कि आउनु मैंतिर
तेरो थाकेको शिर अड्याउने बलियो काँध बनेर
म यहिं तेरो प्रतिक्षामा बसिरहेको हुनेछु ।