Advertisement Ad

धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाए

Advertisement Ad

१२ पुस २०८०, काठमाडौं। सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरानलाई संघीय सरकारको महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका थिए। उनले प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएर यलम्बरको फोटो राखेको एक कर्मचारीले बताए।

‘म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ! जय देश !,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए।

धरान उपमहानगरका प्रवक्ता समेत रहेका १७ नम्बर वडाका अध्यक्ष मनोज भट्टराईले मेयर साम्पाङले कानून विपरीत काम गरेको बताए।

‘उहाँले देशको प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएर अराजकता देखाउनु भएको छ। उहाँको यो कदममा धरानको कार्यपालिकाले नीतिगत रुपमा विरोध गरेर, कानुनी दायरामा ल्याउन पहल गर्छ । उहाँको अराजकताले सीमा नाघेको छ,’ भट्टराइले भने।

धरान उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलासँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनले यो विषय आफूलाई थाहा नभएको बताइन्।

‘म आज कार्यालय प्रमुखहरुको भेलामा इटहरीमा आएको छु, बिहान म कार्यालयबाट निस्किँदा प्रधानमन्त्री र राष्ट्रपतिका फोटा थिए। मेयर साबले हटाएको विषय मलाई थाहा छैन,’ निरौलाले भनिन्।

(अनलाइनखबरबाट)