Advertisement Ad

कोशीका मुख्यमन्त्री थापा पदमुक्त, नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश

Advertisement Ad

११ साउन २०८०, काठमाण्डौ । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आन्नदमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै थापालाई मुख्यमन्त्री नियुक्त गरिएको प्रक्रियालाई उत्प्रेषणको आदेशले बदर गरेको हो ।

साथै सर्वोच्चले नयाँ सरकार गठनका लागि परमादेश समेत दिएको छ । यही साउन १७ गतेभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्ने गरी प्रक्रिया प्रारम्भ गर्न सर्वोच्चले परमादेश दिएको छ ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘‘नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम अर्को सरकार गठन गर्ने विकल्प रहेसम्म सो विकल्प अपनाउनु वाञ्छनीय देखिएको, उक्त धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न मिल्ने नै अवस्था रहेको र जुन बिन्दूबाट संविधानको प्रयोग र पालनामा त्रुटी भएको हो, सोही अवस्थाबाट संविधानसम्मत् तबरले प्रक्रिया अगाडि बढाउनु मनासिव हुने देखिएको हुँदा आजका मितिले सात दिनभित्र (२०८०–४–१७ गतेभित्र) नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु भनी प्रत्यर्थी कोशी प्रदेशका प्रमेख प्रमुख समेतको नाममा परमादेश जारी हुने ठहर्छ ।’’

(गोरखापत्र अनलाइनबाट)