Advertisement Ad

पाँचथरमा सबैभन्दा धेरै फिदिम र कम हिलिहाङको न्यायिक समितिमा उजुरी

Advertisement Ad

१७ साउन २०८०, पाँचथर । जिल्लाका न्यायिक समितिमध्ये सबैभन्दा बढी फिदिम नगरपालिकाको न्यायिक समितिमा उजुरी दर्ता भएका छन् ।

फिदिममा आर्थिक वर्ष ०७९–८० मा ३५ ओटा उजुरी परेको न्यायिक समिति संयोजक राधाकृष्ण न्यौपानेले बताउनु भयो । जसमा लेनदेन सम्बन्धी १६ ओटा, जग्गासम्बन्धी नौ ओटा, घरेलु हिंसासम्बन्धी दुई ओटा, गाली वेइज्जतीसम्बन्धी दुई ओटा, पानी रोक्का सम्बन्धी एक ओटा, ज्याला मजदुरीसम्बन्धी एक ओटा, सहकारीको ऋण सम्बन्धी एक ओटा, खाली चेक दुरूपयोग सम्बन्धी एक ओटा, ढुङ्गा उत्खनन् कार्य बन्द गराई सडकको सुरक्षासम्बन्धी एक ओटा र सडकले पुर्याएको क्षतिसम्बन्धी एक ओटा उजुरी दर्ता भएको न्यायिक समिति उजुरी प्रशासक सरस्वती शिवाकोटीले बताउनु भयो । उजुरी प्रशासक शिवाकोटीले न्यायिक समितिको अधिकार क्षेत्रभित्र भन्दा बाहिरका उजुरी समेत आएको बताउनु भयो ।

कुम्मायक गाउँपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष ०७९–८० मा २६ ओटा उजुरी दर्ता भएका छन् । समितिमा दर्ता भएकामध्ये १५ ओटा फछ्र्यौट भएका छन् । आठ ओटा अदालत पठाइएको कुम्मायक गाउँपालिका न्यायिक समिति उजुरी प्रशासक रूमा बोहोराले वताउनु भयो । सम्बन्धविच्छेद सम्बन्धी ६ ओटा, ज्याला मजदुरी नदिएको सम्बन्धी पाँच ओटा, जग्गासम्बन्धी दुई ओटा र लेनदेनसम्बन्धी १३ ओटा उजुरी परेको उजुरी प्रकाशक बोहोराले बताउनु भयो ।

तुम्वेवा गाँउपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष ०७९–८० मा १८ ओटा उजुरी दर्ता भएका छन् । समितिमा दर्ता भएका १८ ओटा उजुरीमध्ये नौ वटामा मिलापत्र गरिएको न्यायिक समिति कर्मचारी नन्दलाल गिरीले बताउनु भयो । जसमा लेनदेनसम्बन्धी चार ओटा, जग्गासम्बन्धी विवाद तीन ओटा, अंशवण्डासम्बन्धी एक ओटा र अन्य बाँकी १० ओटा छन् ।

फाल्गुनन्द गाउँपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष ०७९–८० मा १५ ओटा उजुरी दर्ता भएका छन् । समितिमा दर्ता भएका १५ ओटामध्ये १२ ओटा उजुरीमा फछ्र्यौट भएका छन् । तीन वटा उजुरी न्याय निरूपणको प्रक्रियामा रहेको गाउँपालिका न्यायिक समितिका उजुरी प्रशासक थमराज न्यौपानेले बताउनु भयो । उजुरीदर्ता भएकामध्ये लेनदेनसम्बन्धी आठ ओटा, गाली वेइज्जतीसम्बन्धी एक ओटा, सम्बन्धविच्छेद सम्बन्धी एक ओटा, कुलोपानीसम्बन्धी तीन ओटा, काठ दाउरा, चरन सम्बन्धी एक ओटा र ज्येष्ठ नागरिक पालनपोषण नगरिएको सम्वन्धी एक ओटा उजुरी परेको उजुरी प्रशासक न्यौपानेले बताउनु भयो ।

याङवरक गाउँपालिकामा आर्थिक वर्ष ०७९–८० मा परेका उजुरीमध्ये शतप्रतिशत उजुरी फछ्र्यौट भएका छन् । याङवरक गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बाबा मेन्याङबोले पाँच ओटा उजुरी दर्ता भएकामा तीन ओटा उजुरीमा मिलापत्र गरिएको बताउनु भयो । उजुरी दर्ता भएकामध्ये एक ओटा साँधसीमाना सम्वन्धी, दुई ओटा खाना, लाउन र शिक्षा नदिएको सम्बन्धी उजुरी परेको न्यायिक समिति उजुरी प्रशासक गणेश खतिवडाले बताउनु भयो । उजुरी परेकामध्ये दुई ओटा मुद्दामा म्याद सूचना दिदाँ समेत दोस्रो पक्षको अनुपस्थित भएकाले अदालतमा पठाइएको र फैसला हुन बाँकी रहेको उजुरी प्रशासक खतिवडाको भनाइ छ ।

मिक्लाजुङ गाँउपालिकाको न्यायिक समितिले आर्थिक वर्ष ०७९–८० मा ५० प्रतिशत उजुरी फछ्र्यौट गरेको छ । समितिमा दर्ता भएका चार ओटा उजुरीमध्ये दुई ओटा उजुरी फछ्र्यौट गरिएको छ । दुई ओटा उजुरी न्याय निरूपणको प्रक्रियामा रहेको गाँउपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सन्तकुमार शेर्माले बताउनु भयो । उजुरी दर्ता भएकामध्ये पतिपत्नीबिचको विवाद एक ओटा, साँधसिमाना सम्बन्धी विवाद एक ओटा र लेनदेनसम्बन्धी दुई ओटा उजुरी रहेको शेर्माले बताउनु भयो ।

फालेलुङ गाउँपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७९–८० मा दुई ओटा उजुरी दर्ता भएको फालेलुङ गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक महेन्द्रहाङ जवेगुले बताउनु भयो । उजुरी दर्ता भएकामध्ये एक ओटा लेनदेनसम्बन्धी र एक ओटा पतिपत्नीबिचको विवाद सम्बन्धी छन् । उजुरी दर्ता भएका दुई ओटै विवादमा न्याय निरूपण गरिएको न्यायिक समिति फालेलुङ उजुरी प्रशासक सुमन सुवेदीले बताउनु भयो ।

हिलिहाङ गाउँपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष ०७९–८० मा जम्मा एक ओटा उजुरी दर्ता भएको न्यायिक समिति उजुरी प्रशासक प्रकाश अधिकारीले बताउनु भयो । जग्गा विवाद सम्बन्धी परेको उजुरी न्याय निरूपणको प्रक्रियामा रहेको उजुरी प्रशासक अधिकारीको भनाइ छ ।

– इवारा जबेगु (इन्सेक अनलाइनबाट)