Advertisement Ad

फोनिज धनकुटा शाखा द्वारा दुई अक्षयकोषको घोषणा

Advertisement Ad

१० भदौ २०८०, धनकुटा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाले फोनिजको २४ औं स्थापना दिवशको शन्दर्भ पारेर शनिबार दुई वटा छुट्टाछुट्टै अक्षयकोषको घोषणा गरेको छ ।

धनकुटाको उत्तरपानी बजारस्थित उत्तरपानी बहूप्राविधिक शिक्षालयको सभाहलमा आयोजित ‘पहिचानको आन्दोलनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रममा अक्षयकोषको घोषणा गरिएको हो । फोनिज धनकुटा शाखाले पाँच लाख रुपैंयाँको ‘आदिवासी जनजाति क्रियाशील पत्रकारिता पुरस्कार’ र फोनिज धनकुटा शाखाका दिवाङ्गत सचिव स्व.पूर्ण कुमार चौधरीको छोराछोरीको अध्ययनमा सहयोग पुर्याउने उदेश्यले तीन लाख रुपैंयाँको ‘स्व.पूर्ण कुमार चौधरी स्मृति कोष’ को घोषणा गरेको हो । कोषका लागि फोनिजको संघीय, प्रदेश, जिल्ला र प्रवाश कार्य समितिहरुलाई सहयोगको आग्रह गरिएको र केहि रकम जम्मा समेत भइसकेकाले यहिं बर्ष कोषलाई पूर्णता दिइने बताइएको छ ।

दुबै कोषको कार्यक्रमका प्रमुख अतिथि, पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङले घोषणा गरेका थिए । अक्षयकोषको घोषणा गर्दै नगर प्रमुख गुरुङले अक्षयकोषका लागि नगरपालिकाको तर्फबाट सहयोग गर्ने र सहयोगका लागि समन्वय समेत गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा धनकुटा नगरपालिका, ९ नं.वडाअध्यक्ष सम्झना आले मगर, नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राई, फोनिज संघीय समिति सदस्य विदुर खवास, प्रदेश अध्यक्ष सन्तबीर लामा, नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ, फोनिज प्रदेश सचिव सन्देश सुब्बा, नेपाल पत्रकार महासंघ धनकुटा शाखा अध्यक्ष नगेन्द्र राई, कान्तिपुर दैनिकसँग आबद्ध पत्रकार रमेशचन्द्र अधिकारी लगायतले आ–आफ्नो विचार राखेका थिए ।

वक्ताहरुले पहिचानको विषय र शन्दर्भलाई जातीय वा साम्प्रदायिक रङ्ग दिन नुहनेमा जोड दिएका थिए । साम्प्रदायिक सद्भाव भड्किने किसिमका क्रियाकलाप कसैले गर्न नहुने र समाजमा उत्तेजना फैल्याउने किसिमका गतिबिधिलाई मिडियाले निरुत्साहित गर्नुपर्ने वक्ताहरुको भनाई थियो ।

फोनिजको २४ औं स्थापना दिवश गत साउन २७ गते परे तापनि यसपल्ट संघीय कार्यसमितिले प्रदेश राजधानी विराटनगरमा स्थापना दिवशको अवशरमा वृहत कार्यक्रमको आयोजना गरेकाले धनकुटा शाखाले ढिलो स्थापना दिवश मनाएको हो । कार्यक्रममा तम्बा संघ धनकुटाका कलाकारहरुले तामाङ सेलो प्रस्तुत गरेका थिए । पाख्रीबास नगरपालिका, ९ नं.वडाले सहयोग गरेको कार्यक्रम फोनिज धनकुटाका अध्यक्ष बिनु चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको उपाध्यक्ष मानवी मोक्तानले बताए ।