– इक्साहाङ चेम्जोङ
१० भदौ २०८०, काठमाडौं । २०६० भदौ ६ गते नेकपा माओवादी पान्थर जिल्ला, क्षेत्र नं. ५ को एरिया बैठक साबिक नवमीडाँडा गाबिस–२, लाक्सिबुङको एउटा घरमा भयो । तत्कालीन एरिया इन्चार्ज कमरेड पर्वत हुनुहुन्थ्यो । म एसीएम साथै एरियाको जनमिलिसिया कमान्डर पनि भएकाले बैठकमा अनिवार्य उपस्थिति हुनुपथ्र्यो । त्यो बैठकमा मूख्य बिषय पार्टी केन्द्रबाट आएको निर्देशन–‘भदौ १०–११ गतेको आमहड्ताल सफल पार्ने’ थियो ।
त्यसको लागि भित्तामा नाराहरु लेख्ने र चोकबजारमा जानकारी गराउनुपर्ने भयो । इन्चार्ज ज्युले काम बाँडफाँड सहित स्थान तोकिदिनुभयो । मैंले मिलिसिया कमरेडहरुलाई खटाउनु पथ्र्यो । बैठक साँझको करिब पाँच बजेतिर सकियो । त्यो रात त्यहिं कतै बसेर भोलि आ–आफ्नो स्थानतिर काममा लाग्नुपर्ने भयो । मैंले बेलुका मिलिसिया कमरेडहरुलाई ब्रिफिङ् दिएँ । साथमा नारा लेखिएको कागज र भित्ते लेखनका लागि रङ्ग किन्ने पैशा सहित उहाँहरुलाई पनि स्थान तोकिदिएँ ।
मेरो कार्यक्षेत्र चाँहि आङसराङ र फाक्तेप पर्यो । बिहान सबै कमरेडहरुसँग बिदाइको जोसिलो हात मिलाएर हामी आ–आफ्नो कार्यक्षेत्रतिर लाग्यौं । मेरो साथमा एक जना नयाँ कमरेड हुनुहुन्थ्यो । लाक्सिबुङ ओरालोमा भदौरे झरीले लत्रिएका खरका बोटहरुले शिर निहुराएर हाम्रो क्रान्तिकारी गोडाहरुलाई छोएर नमन गरिरहेको जस्तो लाग्थ्यो । पाखाभरीका ती खर छिट्टै छिप्पिएर कुनै सर्वहाराको चुहिदै गरेको घरमाथिको छानो भएर बस्न आतुरझैं देखिन्थे ।
बिहानीको सिरसिरे हावाले सल्लाका बोटहरुले उराठ लाग्दो बिरहको सुस्केरा तानिरहेका थिए । निबु खोला वैंशको उन्मादले मात्तिएर किनार वरपरका झारजङ्गल सोहोरेर खुसीले उफ्रिंदै तलतल बगिरहेको थियो । जोसिलो क्रान्तिको हुँकार छोडेझैं लाग्ने निबु खोलाको पानीले अनुहार पखालेर बाँसको कच्चा फड्के तरेर हामीले आङ्सराङ टेक्यौं । त्यो अविरल बगिरहने निबु खोला जस्तै मस्तिष्कमा अथक क्रान्तिकारी उर्जाहरु भरेर आङसराङको उकालोलाई शनैःशनैः नाप्न थाल्यौं ।
उकालो लाग्दै गर्दा स्थानीय युवा–युवतीहरु हतार–हतार घाँस काट्न निबु खोलालाई ताकेर झरिरहेका भेटिए । उनीहरुसँग मैंले छोटो कुराकानी गरें । उनीहरुको घरगाउँतिर दुस्मनहरुको गतिबिधि कस्तो छ भनेर कुटनीतिक रुपले बुझें मैले । कुराकानीको क्रममा त्यस्तो केहि खतरा नरहेको थाहा भयो । निकै उत्साहित हुँदै हामीले छिटो–छिटो पाइला चाल्यौं । मेरो साथी नयाँ भएकोले निकै डर भए जस्तो देख्थें । म उसलाई क्रान्तिकारी वीरताका कथाहरु सुनाएर ढाडस दिन्थें । सहयोद्धा साथीलाई क्रान्तिप्रति प्रतिबद्ध बनाउन कम्युनिष्ट क्रान्ति र च्वेःग्वेभाराका बिचार र कथाहरु सुनाउथें ।
२०५२ साल फाल्गुन १ गते यताको माओवादी जनयुद्ध किन र के का लागि भन्ने कुराहरु बताउदै उसको मनको त्रास भगाउन चाहन्थें म । निकै उकालो हिंडेपछि मकैबारी आयो । मकैबारीको बाटो भेडेटारको घुम्तीहरु जस्तै बारीको डिलडिलबाट मान्छे हिंड्ने बनाईएको हुन्छ । नजिकैबाट घुमेको बाटोमा मकैबो बोटले छेकेर माथिल्लो घुम्तीको र तल्लो घुम्तीको वस्तु देख्न मुस्किल पर्छ । तर, आवाज भने प्रष्टै सुनिन्छ ।
हामी उक्लिदै गरेको डिलदेखि अन्दाजी ४–५ डिल माथि हुनुपर्छ । केहि मानिस छिटो–छिटो हामीतिर आउदै गरे जस्तो पद्चाप सुनियो । मैंले कान चनाखो पारेर सुनें । बुट लगाएका सेनाहरुको पद्चाप जस्तो सुनियो । हातमा एके फोटी सेभेन बोकेर झर्दै गरेको सेनाहरुको गस्ती बिजुली चम्के झैं आँखामा ठोक्कियो । मुटु चिसो भयो । मैंले हतार साथीलाई बारीको डिलमा छेलिन लाएँ । उ निकै आँत्तिएको उसको अनुहारको भावभङ्गिमा हेरेर बुझें । हामी देब्रे तिरको बारीभित्र निहुरिएर लुक्दै भित्ताभित्ता छेलिन्दै भाग्यौं ।
साथी आँत्तिएकोले मकैको बोट सबै हल्लाउँदै भाग्यो । अब साथीले गर्दा यहिं गोलिले शरीर वारपार हुने भयो भन्ने लाग्यो । केहि पर पुगि छेलिएर, घोप्टो सुतेर टाउको उठाएर बाटोतिर चियाएँ । झोलाबाट सकेट बम निकालेर दाहिने हातमा लिईसकेको थिएँ । आफूले आक्रमण नगर्ने यदि उनीहरुले गरे, आत्मारक्षाको लागि प्रतिकार गर्ने भनेर आँट बलियो बनाएँ । पद्चाप अघि हामी भाग्नलाई छिरेको बारीको डिलमा पुगेको चाल पाएँ । बिस्तारै टाउको उठाएर हेरें । पछाडी ब्याग भिरेका, गम्बुट लगाएका दुईजना आधा बैंसे मान्छेहरु गफ गर्दै ओह्रालो झर्दै थिए । हातमा केही हतियार थिएन ।
मैंले साहस बटुलेर आधा शरीर उठाएर हेरें– मकैको बोटहरुले छेलिंदै–देखिंदै गरे तापनि अनुहार लिम्बुहरुको जस्तो ठम्याएँ । उनीहरुको गफमा लिम्बू भाषा नै बोलेको सुनें । अनि ढुक्क भएर बिस्तारै उठें । लुगामा लागेको माटो टक्टकाएँ । साथिलाई खोजें– देखिन । ती बटुवाहरु निकै तल पुगिसकेपछि मैंले साथीलाई बोलाएँ । साथीले कुनै चाल दिएन । मंैले निकै चोटि बोलाए पनि नआए पछि म अलिक डाँडा जस्तोमा निस्केर निकै ठूलो आवाजले बोलाएँ । तर, साथीबाट कुनै प्रतिक्रिया आएन ।
साथी अब हरायो भन्ने लाग्यो । वारिपारि आँखा डुलाएँ, अहँ कतै देखिन । अब के गर्ने कसो गर्ने भन्ने सोचमा थिएँ । त्यहिं बेला पल्लो पाखाबाट “हौ ..’’ भन्ने आवाज आयो । आवाज आएतिर आँखा हुत्याउँदा साथी रुखमा छेलिएर मलाई हेर्दै रहेछ । मैंले हातको इशाराले बोलाएँ । हावाको तालमा भागेको कुरा गरेर हामी दुबैजना हाँस्यौं । केहि वस्ती छिचोलेपछि हामी कमरेड अबिन्द्र आङ्देम्बेको घरमा पुग्यौं । आङ्सराङको लागि हाम्रो पुग्ने मिशन त्यहिं थियो । अबिन्द्रजी घरमै हुनुहँदो रहेछ । उहाँ पार्टीको लागि डब्लुटी नभए पनि गाउँ जनसरकार समितिमा बसेर क्रियाशील हुनुहुन्थ्यो । पार्टीको निर्देशन अनुसार सबै काम गर्नुहुन्थ्यो ।
उहाँसँग निकै लामो कुराकानी भयो । पार्टीको तत्कालीन कामकारबाही बारे बताएँ । त्यतिञ्जेल सम्ममा अबिन्द्रजीको बहिनीले बिहानको खाना तयार गरिदिनुभयो । हामी तीनजनाले सँगै खायौं । हामीलाई हतार थियो । मैंले नारा र रङ्ग दिएर बिदा मागें । हामी फाक्तेपलाई गन्तव्य बनाएर लाग्यौं ।
भदौ ८ र ९ गते हामीले फाक्तेप र चिलिङदेनमा भित्ते लेखन सकेर घुर्बिसे पञ्चमी पुग्यौं । त्यहाँ खतरापूर्ण हुने भएकोले मिलिसिया कमरेडहरुलाई भेला गरेर चारतिर सेन्ट्री राखेर लेख्ने सल्लाह थियो । झन्डै साँढे दुई बजेतिर भित्ते लेखन सकेर हामी एउटा पसलमा पालैपालो खाजा खान पस्यौं । खाजा खाइसकेका कमरेडहरुलाई सेल्टरतिर पठाएँ । अन्तिम खाजा खाने म लगायत दुई जना साथीहरु थियौं । थुक्पा अगाडी आइसकेको थियो । चम्चा हातमा लिंदै गर्दा दुईजना एसएलआर बोकेका जवानहरु देखा परे । मुटु भुक्क फुल्लियो । शरीर चीसो भयो । म भन्दा साथीहरू धेरै आँत्तिन थाले । मैले बिस्तारै साथीहरूलाई तल्लोपट्टी लुक्न लगाएँ । ब्यागहरु ठूलो भाडा भित्र लाएर छोप्यौं ।
म चाहिँ केहि थाहा नभए जस्तो खाजा खान थालें । तर मुटुको धड्कन तेज भएको थियो । खाजाको स्वाद कस्तो थियो ? थाहा पाएको थिइँन । हतियार बोकेकाहरु एक–एक गर्दै निकै आइसके । म बेलाबेला चियाउथें । अब यहिं शहीद हुने भइयो भन्ने मात्र लाग्यो । । मैंले राम्ररी नियालें । केहि चिनेका जस्ता पनि देखिए । फेरि महिला हतियारधारी पनि देखा पर्न थाले । शाहीसेनामा त यसरी गस्तीमा महिला हुँदैन थिए । मन अलिक ढुक्क भएर बाहिर निस्कें । हेरें चिनेकाहरु नै रहेछन् । पहिले सँगै हिंडेका साथीहरू सातौं ब्रीगेड १९ औं बटालीयन बी कम्पनीका जनमुक्ति सेना सहयोद्धाहरू रहेछन् । धेरै समय पछि भेट भएकोले भावुक पनि भयौं । क्रान्तिकारी हात मिलायौं ।
उहाँहरु सेना फर्मेशनमा हिंडेकोले आरामबिराम बाहेक अरु कुरा गर्न पाइएन । त्यो भेटमा केहि चिनेका महिला कमरेडहरु झनै बिह्वल भए । नमरी बाँचे, दुश्मनले साँचे फेरि भेटौला भन्दै छुट्टियौं । यता हाम्रो त्यो दिनको सेल्टर चिलिङदेनको पल्लोछेउ कुनाको घरमा थियो । हामी पनि उतै लाग्यौं ।
१० गते बिहान । बजार बन्द भयो कि भएन ? यातायात चल्दै छ कि छैन ? भनेर पुरानो पञ्चमी र घुर्बिसे पञ्चमी आयौं । बजार बन्द नै रहेछ । घुर्बिसे पञ्चमी पुग्दा आज रातभर आङसराङतिर गोलि चलेको आवाज सुनिएको स्थानीयले बताए । मनमा चीसो पस्यो । मैंले साथीहरूलाई हतार फाक्तेपतिर झारें । आङ्सराङतिर आज राती ठूलै भिडन्त भएको कुरा बाटोभरी सुनियो । झनै मन चिन्ताको रापमा पर्यो । मेरो घर मास्तिर पुग्दा घरमा एकजना अज्ञात मान्छे राती नै आएर सुतेको छ भन्ने सुनियो । मैंले एक जना साथीलाई बुझ्न पठाएँ । केहिबेरमा हामी बसेको घरमै ल्याएर आयो । चिनेकै साथी रहेछ ।
उहि साथीबाट बिस्तृत थाहा भयो– मेहेलबोटेमा शाही सेनासँग अचानक ठूलै भिडन्त भएछ । उसलाई गोलि नलागे पनि भाग्दा जुत्ता हराएछ, खुट्टाहरुमा चोट लागेछ । उसलाई एउटा सुरक्षित घरमा लगेर राख्यौं । मैंले मिलिसिया कमरेडहरुलाई सेल्टर बताएर चारतिर सेन्ट्री खटाएँ । केहि क्षणमै एरिया इन्चार्ज पर्वतसँग पनि कोल्बुङमा भेट भयो । उहाँ पनि यहिं घटना सुनेर फाक्तेप आउनुभएको रहेछ । हाम्रो एरियामा भएका साथीहरूलाई सम्पर्कमा ल्याउने सल्लाह भयो । हामीले खोज्ने कामलाई तिब्रता दिन थाल्यौं ।
म राती भिडन्त भएको आङसराङतिरै गएँ । इन्चार्जले साथी लगेर जानू भने तापनि यो बेला मलाई साथीहरूको बिश्वास लागेन । नयाँ साथीहरू छिट्टै आँत्तिने, नभए नि केहि शंकास्पद गतिविधि गरेर दुश्मनले छिट्टै पहिचान गर्न सक्छ भनेर मैंले झोला छोडि बाँसुरी मात्र बोकेर हिंडे । आङ्सराङको ज्योती स्कुल पुगेपछि एउटा घरमा डोको र हँसिया माँगे । अनि काँधमा डोको र हातमा हँसिया बोकि अलि परको खोल्सातर्फ बाँसुरी बजाउदै गएँ । शाहिसेनाहरु एक सय मिटर मात्र पर पल्लो पाखामा आएर बसेका रहेछन् । मैंले बाँसुरी बजाइरहें उनीहरुले हेरिरहे । म घाँस काट्ने निहुँ पारेर ओह्रालो लागें । कोहि साथीहरू खोल्सातिर घाइते भएका छन् कि भनेर खोल्सैखोल्सा झरें । निकै तल झरेपछि शशी कमरेडको घरमा पुग्दा अबिन्द्रको श्रीमती र बहिनी रुदै बसिरहेका थिए । मैंले खाली डोको त्यहिं राखें ।
उनीहरुले मलाई देख्नासाथ अबन्द्रिको बारेमा सोध्न थाले । अबिन्द्र र हामी सँगै छुटेदेखि घर नआएको बताए । तर, त्यो बेलासम्ममा को–को शहीद भए ? कति जना भए ? केही थाहा भएको थिएन । त्यहाँ जनमुक्ति सेना र शाहीसेनाको मात्र भिडन्त भएकाले अबिन्द्र नपरेको हुन सक्ने आश्वासन दिएर म फर्कें । किनकी त्यहाँ धेरैबेर बस्दा मलाई खतरा हुन्थ्यो । म दुश्मनहरुको गतिविधि बुझेर पुनः फाक्तेप फर्किदै गर्दा जुङ्जिवा खोलामा एक जना कमरेड लुक्दै–लुक्दै खोला तर्दै गरेको भेटें । मैंले बोलाएर परिचय दिएँ । उहाँ एक्लै रातभर जङ्गलमा लुकेर बसेको रहेछ । मैले सेल्टरमा लगेर गएँ ।
बेलुकी सम्ममा कम्पनी सहकमाण्डर कमरेड संगीत सहित १८ जनालाई जम्मा पार्न सफल भयौं । केही कमरेडहरु गोलि लागेर घाइते थिए । रातारात घुर्बिसे पञ्चमीबाट मेडिकल चलाएर बस्ने स्वास्थ्यकर्मी ल्याएर उपचार सुरु गर्यौं । ११ गते बिहान शाहीसेनाहरु त्यहाँबाट फेदेन फर्किसकेको सूचना पाएर हामी भिडन्त भएको ठाउँ मेहेलबोटे पुग्यौं । त्यो ठाउँ पुरै स्तब्ध थियो । गाउँघरको मान्छेहरु त्रासले घर भित्रै थिए । गाईवस्तुहरु घाँस खान नपाएर कराई रहेका थिए । स्कुलको तल्लो छेउमा रगतका आलो भल देखिन्थ्यो ।
मैंले सुरुमै देखें– कमरेड अबिन्द्रको क्षत्बिक्षत लास । म हुरुक्कै भएँ । श्वास झन्डै रोकिन पुग्यो । कमरेड अबिन्द्रका जीवनसङ्गीनि र बहीनिको बिलौना, आँसु र मलिन अनुहार मेरो आँखाभरी नाचिरह्यो, मुटुमा भाला रोपिए जस्तो भयो । वरपर, तलतिर निकै लासहरु थिए । मुटु गाँठो पारेर सबै कमरेडहरुको लासलाई बटुलेर एकठाउँमा जम्मा गर्यौं । अनि, अन्तिम क्रान्तिकारी श्रद्धाञ्जली दियौं ।
भदौरे झरी परिरहेको थियो । झरीमै कमरेड लोचन, कमरेड अबिन्द्र लगायत १३ जना शहीद कमरेडहरुको रगत आलै थियो । त्यो क्षण र भदौरे झरीले बगाउन नसकेको शहीदहरुको त्यो रगत आज पनि मेरो आँखामा झलझली आउछ । मेहेलबोटे घटनाका सम्पूर्ण शहीद कमरेडहरु प्रती हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु ।