Advertisement Ad

Advertisement Ad

काङमाङ नरेश राईले धनकुटामा सुनाए एकल कविता

२५ फागुन २०८१, धनकुटा। युद्धकवि काङमाङ नरेश राईको एकल कविता वाचन कार्यक्रम आइतबार धनकुटामा सम्पन्न भएको छ।

धनकुटा सदरमुकामस्थित होटल मोरिङ्गाको सभाहलमा आयोजित कार्यक्रममा राईले झण्डै दुई दर्जन लामा–छोंटा युद्ध कविता सुनाए। कवि राईले एघारौं सम्झनामा बाँचेको म शीर्षकको कविताबाट वाचन सुरु गरेर फर्केर आउनु, आँसु जस्तै छ युद्ध, युद्धभूमीबाट सम्झना, रित्तो सपना, अन्तिम संघर्ष, भिख नसम्झ जस्ता युद्ध कविता सुनाएका थिए।

कार्यक्रममा वाचित कविताहरुबारे बोल्दै प्राध्यापक इच्छापूर्ण राईले काङमाङ नरेशका कविताहरुले युद्ध अनि लाहुरेका पीडा र दर्दलाई कतै क्रान्तिकारी चेतले त कतै अत्यन्तै मार्मीक ढंगले प्रस्तुत गरेका बताए। काङमाङ नरेश राई अवकाशप्राप्त बेलायती गोर्खा सेना हुन्। उनी युद्ध र युद्धले दिएको पीडालाई कविता मार्फत् उजागर गर्ने कवि हुनन्। उनका तेप्लायु, एघार नोभेम्वर, पानी पतिया जस्ता कृति प्रकाशित छन्।

मिसन पोयट्रि धनकुटाले परम्परागतभन्दा फरक ढंगले संयोजन गरेको कार्यक्रमलाई कवि मुकुन्द प्रयासले सहजीकरण गरेका थिए। त्यस्तै मिसन पोयट्रि र कार्यक्रमको औचित्यबारे कवि केजी सुब्बाले प्रकाश पारेका थिए। कवि काङमाङ नरेश राईको चिनारी कवि नरेन्द्र कश्चितले प्रस्तुत गरे भने कवि सञ्जय सायलले कार्यक्रमको बिट मारे।

कार्यक्रमस्थलमै चित्रकार डिल्लीकृष्ण आले मगरले उतारेको कवि काङमाङ नरेश राईको पोट्रेट मायाको चिनो स्वरुप कविलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा धनकुटा र सुनसरीका कवि, लेखक, साहित्यनुरागी र सञ्चारकर्मीको उपस्थिति थियो।