२६ फागुन २०८१, पाँचथर। फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज (सोमबार) हुने तेस्रो क्वाटरफाइनल खेलमा मच्छिन्द्र फुटवल क्लव काठमाडौं र हिमालयन शेर्पा क्लव काठमाडौंबीच प्रतिश्पर्धा हुनेछ।
प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल आज (सोमबार) दिउँसो २ः३० बजेदेखि फिदिम माविको खेलमैदानमा सुरु हुने आयोजक पाँचथर क्लवका अध्यक्ष कमल तुम्रोकले बताए। दुबै ‘ए’ डिविजन क्लव अन्तिम चारमा स्थान बनाउने रणनीति सहित मैदान उत्रिनेछन्। गत पुषमा मात्र यहीं मैदानमा फाल्गुनन्द गोल्डकपको फाइनल खेलेर उपविजेता बनेको मच्छिन्द्र पाँचथर गोल्डकपको फाइनल पुग्दै उपाधी उचाल्न चाहन्छ।
हिमालयन शेर्पा पनि मचिन्द्रलाई रोक्दै अगाडी बढ्न चाहन्छ। आज हुने दुई ‘ए’ डिविजन क्लवबिचको खेल निकै प्रतिश्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ। प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा भारतको हिल्स फुटवल एकेडेमीलाई पराजीत गर्दै चर्च व्वाइज युनाइटेड क्लव काठमाडौं सेमीफाइन प्रवेश गरिसकेको छ।
प्रतियोगिताको फाइनल खेल चैत २ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १११ रुपैंयाँ र उपविजेताले नगद ५ लाख ५५ हजार ५५५ रुपैंयँ प्राप्त गर्नेछ।
