Advertisement Ad

फिदिम खानेपानी समिति अख्तियारको फन्दामा, पूर्वअध्यक्ष गजाधर भट्टराईसहितलाई आपत

Advertisement Ad

१० असोज २०८०, पाँचथर । नमूना शहरको रूपमा विकास भइरहेको देशको पूर्वी पहाडी जिल्ला पाँचथरको फिदिममा खानेपानी उपलब्ध गराउँदै आएको फिदिम साना शहरी बृहद् खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अख्तियारको फन्दामा परेको छ । अख्तियारको इटहरी कार्यालयले समितिसँग १५ दिनभित्रमा बृहद् खानेपानी आयोजनाको सम्पूर्ण कागजात मागेको छ । तर, १७ दिन बित्दा पनि कागजात बुझाउन समितिले सकेको छैन ।

गजाधर भट्टराई लामो समय समितिको अध्यक्ष रहँदा आयोजनामा व्यापक अनियमितता भएको भन्दै प्रश्न उठेको थियो । उनी १८ फागुन २०७९ सम्म समितिका अध्यक्ष थिए । उनी नेतृत्वको समितिका पदाधिकारीहरूको मिलेमतोमा खानेपानीको ट्यांकी र ट्याक्टर बेचबिखन गरेको साथै खानेपानीको धारा दिने भन्दै रकम उठाएर हिनामिना गरेको आरोप लागेको थियो ।

यसबारे केही महिनाअघि मात्रै अख्तियारको इटहरी कार्यालयमा उजुरी परेको थियो । यसपछि कार्यालयले खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई पत्राचार गर्दै आयोजनाको हालको अवस्था र आयोजनासँग सम्बन्धित सम्पूर्ण कागजात १५ दिनभित्र पेस गर्न निर्देशन दिएको हो ।

बृहद् खानेपानी आयोजना सञ्चालनका लागि एसियाली विकास बैंक (एडीबी) र सरकारका विभिन्न निकायले दिएको ट्याक्टर, समितिले खरिद गरेको, निर्माण गरेको र उपहारमा पाएको पानी ट्यांकीको स्थितिबारे पनि अख्तियारले जानकारी माग गरेको छ ।

अख्यियारको चासोपछि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाँचथरले समितिसँग खानेपानीबारेको प्रतिवेदन मागेको छ । कार्यालयका निमित्त डिभिजन प्रमुख देवनाथ यादवले गत २७ भदौमा प्रतिवेदन माग गरेको कागजात प्राप्त भेटिएको छ । डिभिजन कार्यालयले खानेपानी आयोजनासम्बन्धी कागजात मागेपछि समितिका पूर्वअध्यक्ष भट्टराई नेतृत्वको तत्कालीन समिति पदाधिकारीहरूबीच खैलाबैला मच्चिएको छ ।

स्रोतका अनुसार आयोजनासम्बन्धित सम्पूर्ण कागजात भट्टराई नेतृत्वको समितिले गत फागुनमा अधिवेशन हुनुअघि नै गायब गरेको थियो । जसले गर्दा वर्तमान समितिसँग खानेपानी आयोजनासँग सम्बन्धित कुनै पनि कागजात छैन । तर, अख्तियारले भने खानेपानी आयोजनाबारे कागजात मागेको छ ।

को हुन् गजाधर भट्टराई ?

पाँचथरको फिदिम बजारका रैथाने भट्टराई फिदिम नगरपालिकाका–१ का वडा अध्यक्ष हुन् । उनी दोस्रोपटक वडाध्यक्षको भूमिकामा छन् । एमालेका लोकप्रिय नेता भट्टराईको छबि सामाजिक व्यक्तित्वको छ ।

उनी सामाजिक काममा सरिक हुने नेता हुन् । उनी नेतृत्वमा छँदा नै शहरीकरणको रूपमा विकासोन्मुख फिदिममा फिदिम साना शहरी बृहद् खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएको थियो ।

तर, आयोजना निर्माणको क्रममा छँदादेखि नै अनियमितताको प्रश्न उठेको थियो । अहिले भने अख्तियारले उनी नेतृत्वमा सम्पन्न खानेपानी आयोजनाको सम्पूर्ण कागजात मागेको हो ।

(पत्रकार जङ्ग तामाङले लेख्नुभएको यो समाचारलाई हामीले शिलापत्रबाट साभार गरेका हौं ।)