१२ कार्तिक २०८०, आइतबार। किरात याक्थुङ चुम्लुङका पूर्व अध्यक्ष एवंम् लेखक मञ्जुल याक्थुङबा (मञ्जुलकुमार सिंह याक्थुङबा फोम्बो) को निधन भएको छ।
उनको ८८ बर्षको उमेरमा काठमाण्डौको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनले तेस्रो राष्ट्रिय महाधिवेशनबाट याक्थुङ (लिम्बू) जातिको सर्वोच्च सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको नेतृत्व सम्हालेका थिए। उनले वि.सं.२०५१ देखि वि.सं.२०६३ सम्म सर्वाधिक लामो कार्याकाल चुम्लुङको नेतृत्व गरेका थिए।
दिवाङ्गत याक्थुङबा चुम्लुङले प्रदान गर्ने ‘रत्नशोभा शुभ लक्ष्मी मुन्धुम पुरस्कार’ का संस्थापक हुन्। उनका ‘मौलिक किरात धर्म–संस्कार’ (२०६२), ‘किरात तीर्थस्थल सानो हातिवन’ (२०६६), ‘मुन्धुम र मिथकहरू’ (२०७०) र ‘को हुन् किरात र किरात लिम्बू ? के हो युमा धर्म ?’ (२०७५) लगायत कृति प्रकाशित छन्।
उनको जन्म २३ जेठ १९९२ बुधबार ललितपुरको तीखेदेवलमा भएको थियो। उनको निधनसँगै याक्थुङ (लिम्बू) समुदायले एक महत्वपूर्ण व्यक्तित्व गुमाएको किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले बताए।
स्व.याक्थुङबाको आइतबारै पशुपती आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
