Advertisement Ad

Advertisement Ad

एन्जिलाले आगामी आई लिग पनि सेथु एफसीबाटै खेल्ने

११ कार्तिक २०८०, काठमाण्डौ। गत सिजन सेथु एफसीको कप्तानी सम्हाल्दै आई लिग खेलेकी नेपाली राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले आगामी संस्करण पनि सेथु एफसीबाटै खेल्ने भएकी छिन्।

आउँदो डिसेम्बरबाट सुरु हुने लिगको लागि सेथु एफसीसँग सम्झौता नवीकरण भएको एन्जिलाले बताइन्। अघिल्लो सिजन एन्जिलाको आई लिगमा डेब्यू संस्करण थियो। उनको टोली सेथु एफसीले सेमीफाइनलमा किक स्टार्ससँग स्तब्ध हुँदै यात्रा टुङ्ग्याउनु परेको थियो।

अघिल्लो सिजन सोचेको जस्तो नतिजा नआएको तर, यसपटक च्याप्यिन हुने योजना रहेको एन्जिलाले प्रतिक्रिया दिइन्। सेथु एफसी र एन्जिलाबीच भएको सम्झौता गौप्य राखिएको छ। यद्यपी, सेथुले सामाजिक सञ्जालबाट एन्जिलाको स्वागत गरेको छ।

यसपटक आई लिगमा सात टोली मात्रै हुनेछन्। उपाधिका लागि डिफेन्डिङ च्याप्यिन गोकुलम केरलासँगै सेथु एफसी, किक स्टार्स, उडिसा एफसी, इष्ट बङ्गाल, होप्स एफसी र एपोर्टस् उडीसाले प्रतिश्पर्धा गर्नेछन्।

मार्चसम्म चल्ने लिगको पहिलो खेल सेथुले गोकुलम केरलासँग डिसेम्बर ८ मा खेल्नेछ।