१३ कार्तिक २०८०, पाँचथर। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही किसोर जबेगुलाई गृहगाउँ पाँचथरको फालेलुङ–८, मा सम्मान गरिएको छ।
फालेलुङ गाउँपालिका, ८ नं.वडा कार्यालय, वडास्थित राजनीतिक दल र सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुले सगरमाथा आरोही किसोरलाई सम्मान गरेका हुन्। नेपाली सेनाको श्री नाथ गणमा कार्यरत जगेगुले गत जेठ १ गते बिहान दश बजेर पाँच मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका थिए।
सगरमाथा आरोहण अघि अन्य हिमालको समेत आरोहण गरिसकेका जबेगु पाँचथरको दोस्रो सगरमाथा आरोही हुन्। यसअघि कुम्मायक–२, माङजाबङका सुशील शेर्माले सगरमाथाको सफल आरोहण गरेका थिए। सगरमाथाको सफल आरोहण गरेर गाउँको नाम राखेकोमा फालेलुङ–८, बासीले जबेगुलाई बधाई दिएका थिए।
जबेगुको सम्मान कार्यक्रममा प्रमुख अतिथि, फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगु (फुङनिमा), फालेलुङ–८, का निवर्तमान वडाअध्यक्ष पदम कुमार फागो लगायतको सहभागिता रहेको थियो।
कार्यक्रम फालेलुङ–८, का वडाअध्यक्ष श्रीहाङ केरुङको अध्यक्षतामा सम्पन्न भएको नेकपा (माओवादी केन्द्र) फालेलुङ–८, का अध्यक्ष घनेन्द्र केरुङले बताए।
