Advertisement Ad

आगोको पिदारः पहिचान बोल्ने कवितारु

Advertisement Ad

प्रेमीला राई

१४ कार्तिक २०८०, काठमाण्डौ। मिथोचलाई मैंले पहिलोपटक आन्दोलनको भिडमा माइतीघर मण्डलामा भेटेको हुँ। प्रायः उनी आन्दोलनतिरै भेटिन्थे। यसैबाट स्पष्ट हुन्छ कि उनी परिवर्तन खोजिरहेका एक तन्नेरी हुन्। र, शब्द–खेलाडी पनि। उनी बेथितिको विरुद्ध बोल्छन्। उनी अन्याय, अत्याचार, असमनाताको विरुद्ध उभिन्छन्। उनीसँग भेट हुँदा मैंले उनका कविताहरू उत्ति पढेको रहेनछु। यद्यपी, हामी सामाजिक सञ्जालमा जोडिएका थिएछौं। भेटपछि म बिस्तारै उनका कविताहरू, विचारहरूभित्र छिर्दै गएँ।

व्यक्तित्वको हिसाबले उनी एकदमै शालीन र लजालु स्वभावको, सानो कदको भएता पनि आफूभित्र बिद्रोहको ज्वार बालिरहन्छन्। त्यसैको परिणाम स्वरुप आज हाम्रो हातमा आगोको पिदार छ।

उनी हाम्रो पुस्ताको एकदमै सचेत कवि हुन्। किताब प्रकाशन हुनुभन्दा करिब डेढ–दुई महिनाअघि हामी सम्भव समूहले आयोजना गरेको यात्रामा कवितामा चम्पादेवीको उकालो सँगै यात्रा गरेका थियौँ। उनी सम्भव समूहको सक्रिय अभियान्ता पनि हुन्। त्यसै सन्दर्भमा उनले आगोको पिदार तपाईंहरूको हातमा थम्याउन लागेको छु, भनेर भनेका थिए । र, म त्यो आगोको पिदारको स्पर्शको लागि उत्साहित थिएँ।

मीठो संयोग। मेरो प्रिय भाई, शालीन कवि शुभचन्द्र राईले दशैंको उपहार आगोको पिदार टक्र्याउने खबर सुनायो। मेरो खुसीको सीमै रहेन। एक त हामी एउटै पुस्ताको रहरे लेखकहरूले हाम्रो पुस्तालाई कसरी सद्भाव राखिरहेछ भन्ने नै हो। उपहार दिनको लागि अरू थुप्रै उम्दा लेखक साहित्यकारका पुस्तक पनि हुन्थे होला ! तर शुभचन्द्रले आगोको पिदार नै छानेकोमा म दोब्बर खुसी भएँ। किनकी! यसले आफ्नो पुस्ताको साहित्यमा हिंडिरहेको स्रष्टाप्रति माया र सद्भाव राखेको मैंले महसुस गरें। शुभचन्द्रको यो स्वतस्फूर्तः संस्कार हामीले सिक्न जरुरी छ ठान्छु म। प्रिय भाई शुभलाई हृदयतः धन्यवाद र सकरात्मक संस्कारको लागि बधाई।

स्रष्टाकै हातबाट आगोको पिदार ग्रहण गर्ने अर्को सुवर्ण अवसर जुर्यो। यो मानेमा पनि खुसी भएँ।

हातमा आगोको पिदार त पर्यो। यता दशंैको चटारो। बिदा मनाउन बच्चाहरू गाउँ जाने हतार आदि, इत्यादी … तुरुन्तै किताब खोलिंन। स्वभावैले म कुनै पनि काम एकाग्र भएर गर्न रुचाउँछु। खाना खाँदा पनि मलाई अवरोध मन पर्दैन। एक दुई दिन परिवारभन्दा बाहिरको दशैंको अनुभूती लिएर बसें। दशैं सकिन लाग्दा लाग्दै बल्ल आगोको पिदार उघार्ने हुटहुटी चल्यो र यसो पल्टाएँ। मैंले जम्प गरेर पढिँन। निरन्तर आख्यान पढेजस्तै एक पछि अर्को पढ्दै गएँ।

सायदै कविताहरू निरन्तर कम पढिन्छ ! यद्यपी, निरन्तर क्रमैसँग पढिरहँदा पनि अल्छी लागेन। कारण क्रमशः एउटै स्वादको कविता छैनन् यसमा। पहिलो कविता सृष्टिसँग जोडिएको आमा समर्पित । त्यसपछि आन्दोलन, बिद्रोह, पहिचान, वर्गीय बिभेद … फरक–फरक स्वाद लिदै गएँ। कविताक्रम पनि निकै उत्कृष्ट लाग्यो मलाई, प्रकाशन सन्दर्भमा। जब म सहिद कवितामा पुगें म रोकिएँ। यसले देशको व्यवस्था र राजनीतिलाई कस्तो कडा प्रहार गरेको! एक अंश–

यस समय
चिहानको छातीमा टेकेर
झन्डाका ध्वजाहरू
जोडजोडले फर्फराइरहेछन्

क्रान्तिकारी हावाको वेगले
जति पटक झन्डा फर्फराउँछ
त्यति नै पटक
सहिदका आफन्तहरूका
आँखामा आँसु बर्बराइरहेछ

यो कविता पढेपछि झन् धेरै अगाडि पढ्दै जाने हुटहुटी बढ्यो। दुई तीन ओटा पछिको जाडोको विरुद्धमा कविता उस्तै बेजोड। यो समाजको वर्ग, वर्गीय पीडा, उत्पीडन र त्यस विरुद्धको विद्रोह उतिकै गजब। यो कविता निकै राम्रो कविता हो, सङ्ग्रहभित्रको। त्यसपछि बीचमा भेटिएको खेल कविता चैं तुलनात्मक रुपमा असाध्य साधरण लाग्यो। यो कविता नराखेको भए नि हुन्थ्यो जस्तो मनमा लागिरह्यो। आगोले चित्र कोरिरहेछ कविताको उठान क्या बेजोड छ–

चेतनाको गर्भबाट
विचारको घाम फुटेर
आगोको जन्म भयो

बाटोले भत्किनु कविता उत्तिकै विम्वात्मक र शक्तिशाली छ–

ओ सडक
पद्चापहरूले कुल्चिएका
ओ बाटाहरू
चौबाटोहरू गल्र्यायाम्मै भत्किदेओ

अर्को तेस्रो स्टान्जा

पुरानो बाटोहरू भत्किएपछि
नयाँ बाटाहरू बन्छन्
यात्रामा नयाँ पाइतालाहरू थपिन्छन्
यात्रामा नयाँ गन्तव्यहरू भेटिन्छन्
प्रत्येक पैतालाको गर्भबाट
नयाँ बाटाहरू जन्मिन्छन्

यो कवितामा कस्तो बिम्बात्मक र विद्रोही भाव ओकलिएको छ। यो कविता एउटा राम्रो कविता हो, सङ्ग्रहभित्रको। उसो त शाँदरकी रिल कस्तो पहिचान झल्किने कविता। घर शीर्षकको प्रेरणादायी सकारात्मक अभिव्यक्ति सहितको कविता छ। यसरी कविताक्रम अघि बढ्दै जाँदा म आगोको पिदार शीर्षक कवितामा गएर रोकिएँ। यो सङ्ग्रहको एक मास्टरपिस कविता रहेछ। र नै यहिं कविताको शीर्षकबाट नाम पायो कृतिले। मानव उत्पतिको सभ्यतासँग जोडिएको आगोको सभ्यता र हामी किरात समुदायको सभ्यतालाई बेजोडसँगले प्रस्तुत गरेका छन कवि मिथोचले आगोको पिदार कवितामा। सायदै आगोको पिदार जत्तिको पहिचानको कविता हामीले यहि विषयमा जोडिएर यो पुस्ताले लेख्न सक्दैनौ जस्तो लाग्छ । एक अंश–

मलाई असाध्यै आगोको माया छ
आगो निभ्यो भने
मेरो अस्तित्व निभ्नेछ
मेरो उज्यालो निभ्नेछ
आगोको मुक्दुम निभ्नेछ
चुप्लुको शक्ति निभ्नेछ

वास्तवमै हाम्रो मानव सभ्यता आगोको अस्तित्वसँग जोडिन्छ। हामी किरातीहरू उधौली उभौलीमा तीन चुलामा आगो बालेर पितृलाई सम्झन्छौँ। आगोमा वासिम, आराखा, बेछु, अक्षता (जाँड, रक्सी, अदुवा) चढाउँछौ। मिथोचले आगोको पिदारमा सृष्टि र सभ्यता जोडेर बेजोड कविता लेखेका छन्।

कविताक्रम भङ्ग नगरिकन पढ्दै गएँ। त्यतिन्जेल एक कप चिया पनि बनाएर साथमा मिल्क टि राखेर कविता पढिरहेँ। मिथोचको ऐठन कविता पनि ऐठन नै पार्ने किसिमको छ।

यसरी सरर मैंले १०० पृष्ठको आगोको पिदार भित्रका ४१ ओटा कविताहरू बिना थकान पढिसकाएँ। सबै कविताहरू उम्दा छन्। उनको यो सङ्ग्रहभित्र विशेषतः पहिचान अनि राज्यसत्तासँगको बिद्रोह, वर्गीयताको विरुद्ध खबरदारी र सृष्टि या प्रकृतिसँग बढी नजिक भएर लेखिएको कविताहरू पाएँ। कविले कवितालाई प्रायसः बिम्बात्मक ढङ्गले प्रस्तुत गरेका छन्। कविले कतिपय ठाउँमा शालीन बिद्रोह ओकलेका छन् त कतिपय ठाउँमा आक्रामक बिद्रोह बोलेका छन्। मिथोचको यो सङ्ग्रहभित्रका सबै कविताहरू उत्तिकै शक्तिशाली हुँदाहुँदै पनि केही एकादुई कविताहरू जसमा खेल कविता नराखेको भए हुन्थ्यो जस्तो लाग्यो। त्यस्तै आन्दोलन शीर्षकको कविताको उठान बेजोड हुँदाहुँदै इन्डिङ् कता–कता कस्तो–कस्तो के नपुगेजस्तो खड्किरह्यो। यद्यपी, मिथोचको आगोको पिदार पहिलो कविता सङ्ग्रह हो। अब यो पढिसकेर पाएको प्रतिक्रियाले आफूलाई परिस्कृत गर्दै लाने कुरामा म विश्वस्त छु।

आगोको पिदारले नेपाली कविता जगतमा मिथोचको सायरेम (शीर उभ्याउनी) भएको ठान्छु म। समग्रमा एउटा उत्कृष्ट कृतिको रुपमा आगोको पिदार हाम्रो हातमा आएको छ। यसले नेपाली साहित्यमा कविताको पिलरमा एउटा इटा थप्ने काम गरेको छ। उनको पहिलो कृतिले नै उनी कविता लेख्न सक्ने स्रष्टा हो भन्ने सावित गरिसकेको छ।

मिथोचलाई बधाई। निरन्तर लेखनको शुभकामना!