Advertisement Ad

लिम्बुवान गेट बन्दैन भन्ने कल्पना नगर्नुहोस– मधुराज केरुङ (भिडियो सहित)

Advertisement Ad

१ साउन २०८०, पाँचथर । सदरमुकाम फिदिम बजारस्थित मेनरोडमा रहेको लिम्बुवान गेटलाई गत वैशाखमा भत्काइयो । मेची राजमार्ग बिस्तारको क्रममा गेट भत्काइएको हो । पुनः सोहि प्रकृतिको नयाँ लिम्बुवान गेट निर्माण गर्ने जिल्ला प्रशासन कार्यालय, जनप्रतिनिधि र सरोकारवाला सहितको सर्वदलीय सहमतिबाट गेट भत्काइएको हो । वि.सं.२०४२ सालमा तत्कालीन पञ्चायती व्यवस्था लागू भएको २५ औं बर्ष पुगेको अवशरमा फिदिम बजारको प्रवेशद्वारको रुपमा उक्त गेट निर्माण भएको थियो । सो गेटलाई २०६२÷६३ को जनआन्दोनको सफलतासँगै पहिचानवादीहरुले लिम्बुवान गेट नामगकरण गरी मर्मत सम्भार र संरक्षण गर्दै आएका थिए । र सो गेट लिम्बुवान गेटकै रुपमा स्थापित भयो पनि । अहिले सामाजिक सञ्जालमा देश–विदेशबाट सुभचिन्तकहरुले अब लिम्बुवान गेट नबन्ने हो कि ? भनेर चासो व्यक्त गरिरहेका छन् । अर्को गेट नबनाई पुरानो गेट भत्काइएको प्रति आक्रोश पनि व्यक्त गरिरहेका छन् । यहिं सवालहरुका शन्दर्भमा लिम्बुवान गेट व्यवस्थपन समितिका संयोजक मधुराज केरुङसँग सुम्हात्लुङ टाइम्सले कुराकानी गरेको छ :

लिम्बुवान गेटको विषयमा अहिले सामाजिक सञ्जालमा धेरैले चासो व्यक्त गरिरहनुभएको छ, यसलाई कसरी लिनुभएको छ ?
लिम्बुवान गेट हाम्रो एउटा धरोहर अर्थात् सम्पदालाई जुन चासो देखाउनुभएको छ, त्यो चासो देखाउने साथीहरुलाई म हार्दिक सम्मान गर्छु । तर, सामाजिक सञ्जालमा आएका कुराहरुमा धेरै चासो र तर्कहरु छैनन् । त्यहाँ चाहि दुई प्रकारका तर्कहरु आइरहेको देख्छु ।

एउटा चाँहि लिम्बुवान गेट नै बन्न नदिने तर्क । अर्को चाँहि एक किसिमले भन्ने हो भने लठिङ्गरे तर्क । त्यो वास्तविक नबुझिकन, गेट कसरी बन्छ, गेट कसरी बनाइनेछ, गेट पुनस्र्थापना कसरी गरिनेछ भन्ने कुरा त एउटा पद्धती, बिधिसम्मत हुने कुरा हो । त्यसलाई अफबाह फैलाएर, कसैको मनहानी गराउनका निमित्त, कसैलाई चाँहि अपमानित गराउनका निमित्त पैशाको लेनदेनमा बिक्यो, पैशा लियो जस्ता अनेक–अनेक सामाजिक सञ्जालमा प्रतिक्रियाहरु आउछन्, त्यो चाँहि उनीहरुको मनगणन्ते कुरा मात्र हो । त्यो चाँहि उनीहरुको एक किसिमको मानशीक रोग मात्र हो ।

भत्काइनुपूर्वको लिम्बुवान गेट ।

लिम्बुवान गेट अब तत्काल बन्छ । त्यसको समिति निर्माण भएको छ । समितिले काम सूचारु गरिसकेको छ । विभिन्न छलफल, बहस भएको छ । पटक–पटक बैठक भएको छ । निर्णयहरु भएका छन् । काम तिव्र रुपमा अगाडि बढ्दैछ ।

तपाईं लिम्बुवान गेट व्यवस्थापन समितिको संयोजक हुनुहुन्छ, गेंटको विषयमा शुभचिन्तकहरुले उठाएका सवालहरुलाई जिम्मेवारपूर्णढंगले नलिनुभएको आरोप छ नि ?
अब यो त कुन कुरा मान्छेले कसरी ग्रहण गर्छन्, त्यसमा भर पर्ने हो । मैंले यसलाई जस्टिफिकेशन गर्दागर्दा, उत्तर दिंदादिंदा म आफैं थाकिसकें । मान्छेलाई आज बुझायो, फेरि एकछिनमा निहुँ खोज्न निस्कन्छ । दुनियाँलाई थाहा छ त गेट पुनर्निर्माण गर्न जरुर थियो । सडक बिस्तार भयो । सडकको बीचमा त गेट हुने कुरा भएन । मैंले पटक–पटक औपचारिक कार्यक्रमहरुमा, अनौपचारिक रुपमा, सामाजिक सञ्जालमा त्यसको प्रतिक्रिया दिने काम गर्दै आएको छु ।

त्यसले गर्दा गेट पुनस्र्थापनाको निम्ति पाँचथरमा सर्वदलीय बैठक जिल्ला प्रशासन, त्यसमा चासो व्यक्त गर्ने सरोकारवालाहरुको छलफलबाट एउटा समिति बनेको हो । बकैदा निर्णय भएर त्यसको काम सूचारु गरेको हो । काम चल्दैगर्दा, काम हुँदै भएन, बेचिखायो, बिक्यो भन्ने तर्क चाँहि आफैंमा तथ्यसंगत हुँदैन । त्यसले हामीलाई काम गर्न उत्साह दिंदैन । त्यसले दुरुत्साहन मात्र गर्छ ।

त्यसले गर्दा हामी सकारात्मक सोच सहित, सकारात्मक कार्यक्रमको नीति योजना सहित गेट निर्माणमा लागिरहेका छौं । त्यसमा गेट बन्दैन, बेचिखायो जस्ता तल झरेर गरिएका तर्कहरुसँग चाँहि म सहमत छैन । सामाजिक सञ्जालमा जे फालिरहेका छन्, त्यो सत्य होइन ।

उसोभए यो बताईदिनुस न, लिम्बुवान गेट पुननिर्माणको काम के भईरहेको छ ?
लिम्बुवन गेट पुनर्निर्माणको लागि पटक–पटक बैठक बसिएको छ । र, लिम्बुवान गेटलाई पुनस्र्थापना गर्ने जग्गा खोजिएको छ । कसरी चाँहि त्यसलाई व्यवस्थित गर्ने भनेर आर्थिक रुपमा पटक–पटक छलफल भएको छ । करोडभन्दा माथि लगानीबाट बन्ने, र त्यो चाँहि अत्यन्तै मौलिक ढंगले पहिले कस्तो थियो, त्यहिं प्रकृतिको त्यो भन्दा अझ ओरिजिनल देखिने, अग्लो, तीन वटा पिलर भएको र बजारको बीचमा बनाउने भनेर पटक–पटक हामीले छलफल गरेर, जग्गा खोजेर त्यसको निर्माण अगाडि सारेका छौं ।

भत्काइएपछिको लिम्बुवान गेट ।

इन्जिनियरलाई नक्सा कोर्न लगाएका छौं । नक्सा कोरिएको छ । नगरपालिकाका इन्जिनियरहरुले नै त्यसको नापो गरेका छन् । अब त्यो बनाउने ठाउँमा चाँहि प्रारम्भ गर्ने समय मात्र बाँकि छ । त्यसका लागि अलिकति प्रक्रिया अड्किरहेको छ । आर्थिक लगानि गर्दा त्यसको एउटा मापदण्ड हुन्छ । बिधि प्रक्रिया हुन्छ । त्यसलाई टेकेर काम गर्नुपर्ने हुन्छ । त्यसैले गर्दा यो अगाडि बढेको छ । हामीले जग्गा धनीहरुसँग दुई÷तीन पटक कुरा पनि गरिसकेका छौं । अहिलेको युके होटल छेउ, माथिल्लोपट्टी टाइगर होटल छेउ र बीचमा गरेर तीन वटा जग मौलिक ढंगले, विभिन्न मौलिक चित्रहरु कोरिने र त्यसको निम्ति जिल्ला समन्वय समिति मार्फत दश लाख रुपैंयाँ पैशाको पनि व्यवस्थापन भइसकेको छ । नगरपालिकाले आफ्नो कोषबाट बजेट व्यवस्थापन गर्ने, आएका बजेटहरुलाई शिलालेख गर्ने, स्तम्भ बनाउने बिषयमा व्यापक रुपमा छलफल भइरहेको छ ।

हामीले निर्माण गरेको गेट कमसेकम एक सय बर्षसम्म टिक्नुपर्यो । यहाँको सौन्दर्यको सृष्टि गर्नुपर्यो । आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न टेवा पुर्याउनुपर्यो । बनाइसकेपछि अलि बकैदा बनाउनुपर्यो । अलि बजबुत, सौन्दर्य झल्किने, मौलिकता बोक्ने, यहाँको खास माटोलाई चिनाउने खालको गेट निर्माणको चरणमा छौं यतिबेला हामी ।

अहिले जसरी देश–विदेशबाट लिम्बुवान गेट अब कतै नबन्ने त होइन भन्ने चिन्ता व्यक्त भइरहेका छन्, उहाँहरुलाई के भन्नुहुन्छ ?
त्यो चाँहि बनको बाघले खाएको होइन, मनको बाघले खाएको हो । लिम्बुवान गेट बन्दैन भन्ने चाँहि कल्पना पनि गर्न नसकिने कुरा हो । त्यसमा पनि हामी लिम्बुवान गेट व्यवस्थापन समितिमा मेरो बुवा पुस्ताका संस्कृति संरक्षणको निम्ति, माटो, भाषा र मुन्धुमको निम्ति जीवन अर्पण गर्नुभएकाहरु हुनुहुन्छ । मभन्दा धेरै अग्रज राजेन्द्र कुमार जबेगु, प्राज्ञ दीलेन्द्र कुरुम्बाङ, उद्योण वाणिज्य संघका अध्यक्ष नवराज घिमिरे, जिल्ला समन्वय समितिका प्रतिनिधि, फिदिम नगरपालिका १ नं.वडा अध्यक्ष लगायत हुनुहुन्छ । हामी सहित प्रशासन, जनप्रतिनिधि, अन्य सरोकारवाला सबै बसेर साझा सहमतीका आधारमा लिखित सहमति गरेर त्यसलाई सारिएको हो । त्यसमा लिम्बुवान गेट बन्दैन होला भन्ने कल्पना नगर्नुहोस । नगर्न म अनुरोध गर्दछु । लिम्बुवान गेट बन्छ । राम्रो बन्छ, ऐतिहासिक बन्छ, गेट बन्छ ।

कुराकानीको भिडियो हेर्नुहोस :