Advertisement Ad

फिदिम–६ वडा कार्यालयद्वारा विद्यार्थीहरुलाई सिपमुलक तालिम

Advertisement Ad

८ माघ २०८०, पाँचथर। वडा कार्यालय फिदिम–६ ले विद्यार्थीहरुलाई सिपमुलक तालिम दिएको छ।

फिदिम–६ सिवा फेदायकस्थित सिद्ध कालीका माविका विद्यार्थीहरुलाई बाँसबाट बन्ने बुकर्याक, टेवल, टुल र सिलामसाक्मा बनाउने तालिम दिइएको हो। ११ दिनसम्म सञ्चालित तालिममा उक्त विद्यालयको कक्षा ७, ८ र ९ मा अध्ययनरत ३० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। तालिमबाट पढाइका अतिरिक्त फरक ज्ञान र सिप हाँसिल गरेको सहभागि विद्यार्थीले बताए।

आइतबार सम्पन्न तालिम समापन समारोहमा बोल्दै प्रमुख अतिथि, फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्लेले तालिमले विद्यार्थीहरुलाई व्यवहारिक रुपमा पनि सबल बनाउन सहयोग पुगेको बताए। नगर प्रमुख काफ्लेले फुर्सदको समयमा सामाजिक सञ्जालको अधिक प्रयोग गर्नुभन्दा पनि यस्ता सिपमुलक काममा समयको सदुपयोग गर्न विद्यार्थीलाई सुझाब दिए।

कार्यक्रमका बिशेष अतिथ, फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेले तालिम समय शान्दर्भिक रहेको बताउदै शैक्षिक संस्थाहरुलाई क्रमशः व्यवस्थित बनाउदै लानुपर्ने बताए। नगर क्षेत्रको शैक्षिक उन्नयनका लागि नगरपालिका लागिपरेको पनि उपप्रमुख न्यौपानेले बताए।

पढाइबाट बचेको समयलाई सदुपयोग गर्दै विद्यार्थीहरुलाई आयआर्जनसँग जोड्ने उदेश्यले तालिमको आयोजना गरिएको हो। विद्यार्थीहरुलाई नियमित बढाईसँगै सीपसँग पनि जोड्ने अभियान अन्तर्गत वडाले तालिमको आयोजना गरेको फिदिम–६ का वडाअध्यक्ष बिपन तुम्रोकले बताए।

तालिमको सहजीकरण चुडामणी बाँस्कोटा र बिमला नेम्बाङले गरेका थिए। स्थानीय बुद्धिजीवि, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको तालिम समापन समारोह वडा अध्यक्ष बिपन तुम्रोकको अध्यक्षतामा सम्पन्न भएको, वडा शिक्षा विकास समिति फिदिम–६ का सचिव नरेन्द्र शेर्माले बताए।