५ चैत २०८०, पाँचथर। ताप्लेजुङमा अवस्थित याक्थुङ (लिम्बू) समुदायसँग सम्बन्धीत मुन्धुमी, साँस्कृतिक तथा आध्यात्मिकस्थल मुक्कुमलुङ (पाथीभरा) क्षेत्रको रुख कटानबारे ‘मुक्कुमलुङ बचाऔं’ अभियन्ताहरुले प्रदेश पर्यटन, वन तथा वातावरणमन्त्री गणेश प्रसाद उप्रेतीको ध्यानाकार्षण गराएका छन्।
आन्दोलनरत पक्षले नेपाल पक्षराष्ट्र रहेको विभिन्न अन्तराष्ट्रिय कानून एवंम् नेपालको संविधानले गरेको व्यवस्था बिपरित कथित विकासको नाममा मुक्कुमलुङमा केवलकार निर्माणको योजना अघि सारेर त्यहाँको मुन्धुमी, साँस्कृतिक, आध्यात्मिक एवंम् वानस्पतिक र जैविक विविधतालाई नष्ट गर्न लागिएको जनाएका छन्।
प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश प्रसाद उप्रेतीलाई यसबारे ध्यानाकार्षण पत्र बुझाउदै अभिन्यता नन्द कन्दङवाले आफूहरुको तथ्यसंगत र न्यायोचित मागलाई बेवास्ता गरेर राज्यले जबरजस्त गर्न खोजे जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनी दिए।
‘मुक्कुमलुङ बचाऔं’ अभियन्ताहरुको पत्र बुझ्दै प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री उप्रेतीले रुख कटानको काम रोकि सरोकारवालाहरुसँग राय लिएर मात्र अघि बढ्ने बताए। यद्यपी संघीय सरकारले प्रदेश सरकारलाई हस्तक्षेप गरेर समस्या सिर्जना गरेको मन्त्री उप्रेतीले बताए।
मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा नीजि कम्पनीको व्यापारिक फाइदाका लागि केवलकार निर्माणको योजना अघि बढाइएसँगै ‘मुक्कुमलुङ बचाऔं’ अभियन्ताहरुले निरन्तर प्रतिरोध गर्दै आएका छन्।
मुक्कुमलुङको मुन्धुमी, साँस्कृतिक, आध्यात्मिक, वानस्पतिक र जैविक विविधता नष्ट गर्न लागिएकाले त्यसको सशक्त प्रतिरोध गर्दै आएको अभियन्ता नन्द कन्दङवाले बताए।
