Advertisement Ad

Advertisement Ad

दक्षिण कोरियामा भव्य रुपले साकेला उभौली मनाइयो

अर्जुन तुम्बापो
६ असार २०८१, दक्षिण कोरिया। किरात राई यायोक्खा, दक्षिण कोरियाको आयोजनामा येलेदोङ् ५०८४, साकेला उभौली चाड भव्य रुपले मनाइएको छ।

दक्षिण कोरियास्थित किरायाका विभिन्न शाखाहरुको आयोजनामा विभन्न सहरहरुमा साकेला उभौली मनाइएपछि जुन १६ मा किराया दक्षिण कोरिया केन्द्रको आयोजनामा सउलको सुवनमा भव्यतापूर्वक साकेला उभौली मनाइएको हो। साकेलाथानमा विधिपूर्वक पूजा गरेर कार्यक्रम उद्घाटन गरिएको थियो।

सो अवशरमा किरात राईहरुको साँस्कृतिक नाच साकेला सिली प्रस्तुत गरिएको थियो। कार्यक्रममा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले केलाःङ् (च्याब्रुङ नाच) प्रस्तुत गरेको थियो। साकेला उभौलीको अवशरमा किरात राईहरुको साँस्कृतिक परिकार वाचिपासँगै कोदोको जाँड, सेलरोटी, किनिमाको अचार, बङ्गरको मासु, चाम्ब्रे लगायत परिकार बनाइएका थिए।

नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाका अध्यक्ष बिसन राई प्रमुख अतिथि रहेको कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, नेपाल सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाका अध्यक्ष हरि खनाल, पूर्वाञ्चल सरोकार समाज, दक्षिण कोरियाका अध्यक्ष गजेन्द्र शेर्मा विशेष अतिथिको रुपमा रहेका थिए।

कार्यक्रममा किरात राई यायोक्खा, दक्षिण कोरियाका संस्थापकहरु, संरक्षकहरु, दक्षिण कोरियास्थित विभिन्न संघ–संस्था एवंम् जातीय संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता लगायत दक्षिण कोरियामा रहेका किरात राईहरुको सहभागिता रहेको थियो।

किराया दक्षिण कोरिया केन्द्रका वरिष्ठ उपाध्यक्ष सुनिल राईको स्वातग मन्तव्य सँगै अघि बढेको कार्यक्रममा बोल्ने वक्ताहरुले साकेला उभौलीको शुभकामना दिँदै यस्ता साँस्कृतिक चाडहरुको माध्यमबाट मौलिकताको संरक्षणमा टेवा पुग्ने, आपसी सद्भाव, हार्दिकता र सहिष्णुता अभिबृद्धि गर्न मद्धत पुग्ने बताएका थिए।

सो अवशरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो। उपस्थित सबै हर्षोल्लासपूर्वक साकेला उभौलीमा रमाएका थिए। यसअघि दक्षिण कोरियास्थित किरायाको गजेदो शाखा, जेजु दो शाखा, बुसान र ईक्सान शाखामा पनि साकेला उभौली मनाइएको थियो।

सउलको सुवनमा सम्पन्न कार्यक्रम किरात राई यायोक्खा, दक्षिण कोरिया केन्द्रका अध्यक्ष पुरन याम्फुको अध्यक्षतामा सम्पन्न भएको थियो।