प्रस्तुत सामग्री सुम्हात्लुङ टाइम्स डिजिटल पत्रिकाको पहिलो बार्षिक उत्सवको अवशरमा प्रकाशित सुम्हात्लुङ टाइम्सः पाँचथर विशेषाङ्कबाट साभार गरिएको हो। सं.
– गणेश साम्पाङ
१० साउन २०८१, पाँचथर। दश बर्ष अघि सर्वहरा वर्ग र महिला मुक्तिका लागि गाउँ–गाउँबाट उठ्नुपर्ने आह्वान गर्दै हिँड्ने नेत्री जुनु लाओतीको दिनचर्या अहिले किबी व्यवसायमा परिणत भएको छ । ‘‘त्यतिबेला धेरै समय पार्टीको पूर्णकालीन सदस्य भएर हिँडियो, बिभेदको अन्त्य र सर्वहरा वर्गको मुक्तिको कुरा गरियो, अहिले बढी समय व्यवसायीक किबी खेती र बजारीकरणलाई दिइरहेको छु’’, उनले भनिन् ।
पाँचथरको मिक्लाजुङ–१ खान्द्रोङका जुनु लाओती व्यवसायिक किबी खेतीका अग्रणी कृषक हुन् । जुनुले २०६८ सालदेखि सुरु गरेको किबी खेती अहिले उद्योगको रुपमा स्थापित भएको छ । उनले भनिन्, ‘‘व्यवसायिक खेतीका लागि सुरुमा चिया रोपियो, त्यसपछि तरकारी खेती सुरु गरियो, त्यसबाट पनि खासै उपलब्धि नभएपछि किबी खेती सुरु गरेको हो ।’’ जुनुले सुरुमा थोरै क्षेत्रफल र सानो लगानीमा किबी खेती थालेकी थिइन् । अहिले उनको किबी बगैँचा ४५ रोपनी क्षेत्रफलमा पैmलिएको छ ।
किबी फल बेचेर आम्दानी लिने उदेश्यले खेती सुरु गरेकी जुनुले अहिले किबीको फलबाट जुस लगायतका पेय पदार्थ बनाउने उद्योग स्थापना गरेकी छिन् । खेती सँगै लावतीले ‘सनम फलफूल उत्पादन तथा प्रशोधन उद्योग’ खोलेर किबी जुस, स्क्वास, मिक्स अचार, किबीको तीन पाने लगायत सात प्रकारका उत्पादन बजारमा बिक्री बितरण गर्दै आएकी छिन् ।
किबी फल।
पाँचथरमा नगद भित्र्याउने अलैँची खेती घट्न थालेपछि त्यसको स्थान अहिले किबीले लिन थालेको फाल्गनन्द–३ नागबेलेका कृषक राजेन्द्र राईले बताए । एकपटक रोपेपछि १०–१२ बर्षभन्दा बढी समय बाँच्ने किबी खेती अहिले कृषकहरुको रोजाइमा परेको छ । बार्षिक दुई सय क्वीन्टल किबी उत्पादन हुने फाल्गुनन्द–३ का सय परिवार किबी खेतीमा संलग्न रहेको राई बताउछन् । बार्षिक तीन लाख रुपैंयाँभन्दा बढीको किबी बिक्री गर्दै आएका राईले १० रोपनी जमिनमा किबी खेती लगाएका छन् । स्थानीय सरकारले प्राविधिक र आर्थिक सहयोग नगरे पनि आफ्नै बलबुतामा चलिरहेको किबी खेती फाइदाजनक रहेको कृषक बताउछन् । किबी खेतीका लागि गोल्डेन, रेड, हेबार्ट, लगायतका जातहरु रहे पनि सो वडामा हेर्बाट जातको किबी बढी मात्रामा कृषकहरुले लगाएका छन् ।
हावापानीको हिसाबले राम्रै सम्भावना रहेको पाँचथरको फालेलुङ गाउँपालिकाको २, ४, ५, ६ र ७, फाल्गुनन्द गाउँपालिकाको ३ र ४, मिक्लाजुङ गाउँपालिकाको १, २, ६ र ७, फिदिम गरपालिकाको ३, ७, ८, १३ र १४ नं.वडामा किबीको व्यवसायिक खेती भइरहेको कृषि ज्ञान केन्द्र पाँचथरका सूचना अधिकारी केशर मग्रातीले बताए ।
अहिले पाँचथरमा किबी खेती बिस्तार भइरहेको छ । जिल्लाको फालेलुङ–७ मा किबी ब्लक कार्यक्रम सञ्चालन भइरहेको छ । १०२ घरपरिवार समेटिएको ब्लकमा एउटा किबी फर्म र एउटा कृषक समूह सञ्चालनमा रहेको छ । समूहमा बिरुवा वितरण, नाला, पिलर वितरण गरिएको छ । समूहलाई १२ लाख र फर्मलाई दुई लाख सहयोग गरेको मग्रातीले बताए । जिल्लामा किबी खेती बिस्तार भइरहे पनि स्थानीय तहले भने खासै सहयोग नगरेको फाल्गुनन्द गाउँपालिका–३ का कृषक राजेन्द्र राई बताउछन् । सो वडाका एक सय परिवारले किबी खेती गरिरहेको भए पनि स्थानीय तहले खासै प्राविधिक तथा आर्थिक सहयोग नगरेको राईको गुनासो छ ।
किबी खेतीमा कृषकहरुको आकर्षण बढे सँगै मिक्लाजुङ १, २, ६ र ७ का कृषकहरुले व्यसायिक किबी खेती गरीरहेको मिक्लाजुङ गाउँपालिका, कृषि शाखा प्रमुख दिपा राई बताउछन् । गाउँपालिकाले किबी खेतिकै लागि बजेट बिनियोजन नगरे पनि कुषि क्षेत्रको लागि आवश्यकता अनुसार बजेट बिनियोजन गरेको र कृषकहरुलाई समस्या परेको खण्डमा आवश्यक प्राविधिक सहयोग पुर्याउने गरेको उनले बताइन् ।
आफ्नो उद्योगमा जुनु।
किबी खेतीसँगै प्रसोधन पनि सुरु गरेपछि उत्पादित सामग्रीको बिक्री राम्रै रहेको सनम फलफूल उत्पादन तथा प्रशोधन उद्योगका सञ्चालक जुनु बताउछिन् । आफूले उत्पादन गरेको किबी जुस, स्क्वास लगायतका सामग्री इलाम, फिदिम, बिर्तामोड, दमक, धरान र धनकुटासम्म पुगेको जुनु बताउछिन् । आफैले गरेको अर्गानिक खेतीबाट उत्पादन भएको फलबाट तयार भएको जुसमा कुनै पनि रसायनिक पदार्थ प्रयोग नभएकाले यहाँ उत्पादन भएको सामग्री स्वास्थ्यका लागि लाभदायक भएकाले पनि बजारमा माग बढेको उनको भनाई छ ।
अहिले किबीको स्थानीय बजार मूल्य प्रति केजी एक सय रुपैंयाँ छ । उक्त मूल्यमा कृषकलाई घाटा नभएको बताइन्छ । किबीलाई जमिनमा गाडेर तीन महिनासम्म राख्न पनि सकिन्छ । अन्य फलफूल जस्तो चाँडै कुहिएर नजाने र यो फलबाट जुस, स्क्वास, अचार, वाइन समेत बनाउन सकिने हुनाले किबीमा प्रसस्त सम्भावना छ । पाँचथरमा किबी खेतीले समृद्धिको आधार तयार गर्न सक्ने कृषि ज्ञान केन्द्र पाँचथरका सूचना अधिकारी मग्राती बताउँछन् ।