१६ साउन, २०८१ पाँचथर । विश्व रेन्जर दिवसको अवसरमा फिदिम ६, सिवामा बुधबार वृक्षरोपण गरिएको छ ।
‘वृक्षरोपण गरौं, पर्यावरण वचाऔँ’ भन्ने नाराका साथ सिवाखोला- नवमीडाँडा सडकखण्डमा १ हजार बिरुवा रोपिएको हो। वृक्षरोपण कार्यक्रममा कोशी प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, फिदिम नगरपालिका मेयर मित्र प्रसाद काफ्ले, नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ, नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य तथा पूर्व प्रदेश सांसद सीता थेवे, नेपाली काङ्ग्रेस जिल्ला सभापति रुपनारायण जबेगू, माओवादीका जिल्ला संयोजक विशाल रसाइली, जिल्ला प्रशासन प्रमुख (सिडिओ) विष्णु प्रसाद कोइराला, जिल्ला प्रहरी प्रमुख (डिएसपी) हेमन्त भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
आज सन् २०२४ जुलाई ३१ तारिख विश्वभरि १९९५ देखि विश्व रेन्जर डे मनाउने गरिन्छ । नेपालमा पनि सन् २०१७ देखि विश्व रेन्जर डे मनाउने गरिएको छ । सोही अवसर पारेर पाँचथरमा पनि वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको डिभिजन वन कार्यलय पाँचथरका प्रमुख श्रीनारायण यादवले बताउनु भयो । वन, वातावरण जोगाउन प्राकृतिक साथै कृत्रिम बोट विरुवालाई संरक्षण गर्दा त्यसले जलवायु परिवर्तनमा परेको असरलाई न्यूनीकरण गर्ने भएकोले विश्व रेन्जर डे मनाउने गरिएको यादवले बताए ।
वृक्षरोपणले वातावरण स्वच्छ राख्ने, पर्यावरण संरक्षणमा टेवा पुग्नुका साथै वन जंगलबाट आयस्रोत समेत हुने भएकोले सामुदायिक वन र कबुलियत वनमा कल्की फूल, रातो शिरीष, तेजपत्ता, अम्बाक, कागती र कपुर बिरुवा रोपिएको फिदिम नगरपालिका -६ का वडा अध्यक्ष बिपन तुम्रोकले बताए ।
३ सय जनाभन्दा धेरैको उपस्थितिमा सम्पन्न वृक्षरोपण कार्यक्रममा १ हजार भन्दा बढी बोटबिरुवा रोपिएको वडा अध्यक्ष बतुम्रोकले बताए । वृक्षरोपण कार्यक्रम फिदिम न.पा ६ नम्बर वडाको आयोजना, सामुदायिक वन उपभोक्ता महासंघको समन्वय साथै डिभिजन वन कार्यालय पाँचथरको व्यवस्थापनमा सम्पन्न भएको हो।