अर्जुन तुम्बापो
१५ साउन २०८१, दक्षिण कोरिया। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), दक्षिण कोरिया, जेजु दो शाखाले ३० औं विश्व आदिवासी दिवसको अवशरमा आउँदो अगस्त ४ मा गर्न लागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ।
जेजुदोको 제주특별자치도 명신1길 11 मा हुन लागेको उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेफिन जेजु दो शाखाका अध्यक्ष गजिन हाङस्रोङले जानकारी दिएका छन् ।
संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९५ देखि अगस्त ९ तारिखको दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाउने निर्णय गरिएको थियो। सोही निर्णय अनुसार विश्वभर विश्व आदिवासी दिवस मनाउदै आइएको छ।
जेजु दो शाखाले गत वर्षझैं यसवर्ष पनि आदिवासीहरूको विविध झाँकि, संस्कृति तथा रैथाने परिकारहरू सहितको मौलिक प्रकृतिको कार्यक्रमको आयोजना गर्न लागिएको हो। अगस्त ९ लाई दिवसको दिनको रुपमा लिए पनि समय अनुकुलताको आधारमा अगस्त ४मा नै दिवस मनाउन लागिएको हो।
कार्यक्रमको मुख्य आयोजक महासंघ जेजु दो शाखा रहनुका साथै सहआयोजकको रुपमा महासंघमा आवद्ध जेजु दो शाखाको रुपमा स्थापना गरिएको जातीय संस्थाहरू रहेका छन्। रैथाने ज्ञान, संस्कृति र परम्पराहरूको संरक्षण र प्रबद्र्धन आजको आवश्यकता, समानता, सह अस्तित्व र पहिचान प्राप्तिको निम्ति आदिबासी जनजातिहरूको एकता भन्ने मूल नाराकासाथ गर्न लागिएको हो।
आयोजकले कार्यक्रममा सहभागिताको लागि आयोजकले अपिल समेत गरेको छ। त्यसैगरी महासंघ केन्द्र सौलले भने अगस्त ११ तारिखमा वृहत् रुपमा कार्यक्रमको आयोजना गर्ने तयारी गरिरहेको छ। महासंघ बुसान शाखाले अगस्त १८ मा दिवस मनाउने तयारी गरिरहेको छ।