१७ साउन २०८१, पँचथर। नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङबो (मौसम) ले समानुपातिक प्रणाली हटाइए मुलुकमा अशान्ति हुने बताएका छन्।
बिहीबार पाँचथर सदरमुकाम फिदिममा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ बाट विजयी प्रदेशसभा सदस्य आङबोले यस्तो बताएका हुन्। आङबोले नेपाली कांग्रेस र नेकपा एमालेले भने जस्तो समानुपातिक समावेशीता सिद्धान्तलाई हटाउनेगरी संविधान संशोधन गर्ने कुरा नेकपा (माओवादी केन्द्र)लाई स्वीकार्य नहुने बताए।
पत्रकार सम्मेलनमा आङबोले सबै दलको सहमतिबिना संविधान संशोधन गर्न खोजिए २०६२/६३ को जस्तो अवस्था आउनसक्ने भन्दै त्यसतर्फ सेचत गराए। संविधान संशोधन संवेदनशील विषय भएको उल्लेख गर्दै आङबोले कांग्रेस र एमालेले मुलुकमा दुई दलीय व्यवस्था ल्याउन खोजेको आरोप लगाए। संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता संविधानका चार पिल्लर भएको उल्लेख गर्दै आङबोले यीमध्ये कुनैलाई पनि हटाउन नमिल्ने बताए।
प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका आङबोले मुलुकको अर्थतन्त्रलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिए। उनले २०८४ सम्म नेकपा (माओवादी केन्द्र) ले सशक्त प्रतिपक्षको भूमिका निर्बाह गर्ने समेत बताए।
