Advertisement Ad

‘चौबिसे थुमको ऐतिहासिक अध्ययन’ पुस्तकको चर्चा

Advertisement Ad

३२ साउन २०८१, धनकुटा। चौबिसे गाउँपापालिकाको प्रकाशन एवंम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाको संयोजनमा प्रकाशित अनुसन्धानमुलक लेखहरुको संगालो ‘चौबिसे थुमको ऐतिहासिक अध्ययन’ पुस्तकको शुक्रबार धनकुटामा चर्चा गरिएको छ।

फोनिजको २५ औं स्थापना दिवश (रजत बर्ष) को शन्दर्भ पारेर धनकुटास्थित नेपाल पत्रकार महासंघको सहभाहलमा फोनिज धनकुटाले आयोजना गरेको कार्यक्रममा उक्त पुस्तकको चर्चा गरिएको हो। कार्यक्रममा पुस्तकमाथि दुई जना वक्ताहरु विष्णु माया सिंघक र जेपी भुजेलले टिप्पणी गरेका थिए।

पुस्तकमाथि बोल्दै पत्रकार तथा अनुसन्धाता विष्णु माया सिंघकले पुस्तक चौबिसे थुम्का ऐतिहासिक एवंम् मुन्धुमीस्थलहरुलाई जीवन्त राख्ने एक ऐतिहासिक दस्तावेज भएको बताइन्। उक्त पुस्तक भावि पुस्ताका लागि इतिहास, मुन्धुम र साँस्कृतिक महत्व बुझाउने महत्वपूर्ण सम्पति भएको उनको भनाई थियो।

अर्का टिप्पणीकार, अध्येता जेपी भुजेलले जनश्रृतिमा रहेका चौबिसे थुमका ऐतिहासिक स्थलहरुको महिमालाई पुस्तकले दस्तावेजीकरण गरेको बताए। पुस्तकले चौबिसे थुम्का धेरै कुरा उजागर गरेको उल्लेख गर्दै पुस्तकमा छुट्न गएका अन्य स्थान र विषयलाई आगामी दिनमा पूर्णता दिएर लान सुझाब दिए।

कार्यक्रमका प्रमुख अतिथि, चौबिसे गाउँपालिकाका अध्यक्ष राज कुमार चेम्जोङले ‘चौबिसे थुमको ऐतिहासिक अध्ययन’ पुस्तक मार्फत् खोज र अनुसन्धानको थालनी भएको बताउदै पहिलो संस्करणमा विविध कारणले छुटेका कुराहरुलाई आगामी संस्करणमा पूर्णता दिएर जाने प्रतिबद्धता व्यक्त गरे।

पुस्तकमा चौबिसे गाउँपालिकाभित्रका ऐतिहासिक, पुरातात्विक, धार्मिक, साँस्कृतिक एवंम् मुन्धुमीस्थलहरुबारे दश वटा लेख संग्रहित छन्। पुस्तकभित्र डा.डम्बर चेम्जोङ, अर्जुनबाबु माबुहाङ, राज कुमार दिक्पाल, भीमा खजुम, आइत खजुम, केजी सुब्बा, हितराम तिल्लिङ, सागर सरगम चेम्जोङ, सन्तबीर लामा र बिदुव खवासका अनुसन्धानात्मक लेख संग्रहित छन्। १६४+१२ पेजको उक्त पुस्तकको मूल्य व्यक्तिगत रु.५००/– र संस्थागत रु.१०००/– राखिएको छ। उक्त पुस्तकको सम्पादन फोनिज धनकुटाका अध्यक्ष बिनु चेम्जोङ लिम्बूले गरेका हुन्।

३ लाखको अक्षयकोष स्थापना
कार्यक्रममा फोनिज धनकुटाका सचिव स्व.पूर्ण कुमार चौधरीको स्मृतिमा ३ लाख रुपैंयाँको अक्षयकोष स्थापना गरेको छ।

फोनिज धनकुटाको सचिव रहेकै समयमा निधन भएका स्व.चौधरीका छोरा–छोरीको पढाई खर्चका लागि उक्त अक्षयकोष स्थापना गरिएको हो। उक्त कोषको व्याज मार्फत स्व.चौधरीका छोरा–छोरीलाई कक्षा–१२ सम्म पढाइखर्च उपलब्ध गराइने फोनिज धनकुटाका अध्यक्ष चेम्जोङले बताइन्। २०७९ माघ १८ गते निधन भएका स्व.चौधरीका एक छोरा र एक छोरी रहेका छन्।

फोनिज धनकुटाको पहलमा संघीय कार्य समिति, प्रदेश समिति, विभिन्न जिल्ला कार्य समिति र देश–विदेशमा रहेका फोनिजकर्मीहरुको सहयोगमा उक्त कोष स्थापना गरिएको अध्यक्ष चेम्जोङले बताइन्। फोनिज धनकुटाले यसअघि नै ५ लाख रुपैंयाँको अक्षयकोष समेत स्थापना गरिसकेको छ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष नवीनकिसोर शाक्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता बराइली, फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामा, संघीय सदस्य बिदुर खवास लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रम फोनिज धनकुटाका अध्यक्ष बिनु चेम्जोङ लिम्बूको अध्यक्षतामा सम्पन्न भएको उपाध्यक्ष मानबी मोक्तानले जानकारी दिइन्।