Advertisement Ad

Advertisement Ad

विष्फोटमा परी दुई अबोध बालबालिकाले ज्यान गुमाए 

१४ भदौ २०८१, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका–५ प्राङबुङस्थित डाँडागाउँमा बिहीबार अपरान्ह अचानक चर्को आवाज आयो । केही विष्फोट भए जस्तो आवाजले झस्किएका गाउँलेहरु छिनभरमै आवाज आएको ठाउँमा भेला भए ।

ज्ञान बहादुर राई बस्दै आएको आइतराज केरुङको घरबाट उक्त आवाज आएको थियो । गाउँलेहरु भेला हुँदा साना साना नानीहरु जलिरहेको कारुणीक दृष्य देखियो । विष्फोटबाट घाइते हुनेमा स्थानीय दिलिप साँवका ११ बर्षीय छोरा दिप्सन साँवा, दुई बर्षीया छोरी प्रिन्सा साँवासँगै ११ बर्षीय पवन राई र अर्का बालक दिपेश राई थिए ।

गाउँलेहरुले उनीहरुलाई प्राथमिक उपचारका लागि तत्काल स्थानीय स्वाथ्य चौकी पु¥याए । घाइतेमध्ये दिप्सन, प्रिन्सा र पवनलाई जिल्ला अस्पताल पाँचथर ल्याइयो । ४२ किलोमिटर टाढाको जिल्ला अस्पताल पु¥याउदा गम्भीर घाइते बनेका दिप्सन र प्रिन्साको अवस्था नाजुक बनिसकेको थियो । उनीहरुलाई अस्पतालले रेफर गरिदियो ।

थप उपचारका लागि झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल लाने क्रममा दुई बर्षीया प्रिन्साको राती १० इलाम पुग्दा निधन भयो । उनका दाजु ११ बर्षीय दिप्सनको पनि राती १ बजे बीएण्डी अस्पतालमा उपचारको क्रममा निधन भयो । जिल्ला अस्पताल पाँचथरका अनुसार उनीहरुको शरीरको ९० प्रतिशत भाग जलेको थियो ।

गाउँमा अचानक सोच्नै नसोचिएको दुःखद घटना घटेको फालेलुङ–५ का वडाअध्यक्ष भरत खपाङ्गीले बताए । दुई जना नानीहरुको ज्यान लिने उक्त विष्फोटक पदार्थ द्वन्द्वकालीन अवस्थाको हुन सक्ने अनुमान गरिएको छ । घाइतेमध्ये ११ बर्षीय पवनको जिल्ला अस्पताल पाँचथरमा उपभार भइरहेको छ । उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सक किरण गौतमले बताए । विष्फोटको घटनामा परी सामान्य घाइते बनेका दिपेश भने गाउँमै छन् ।

हाल फिदिम बस्दै आएका आइतराजको घरमा उक्त घटना भएको थियो । उनको घरमा भने ज्ञानबहादुर राई बस्दै आएका थिए । छिमेकी दिलिपका नानीहरु खेल्न त्यहाँ पुगेका थिए । घटनामा सामान्य घाइते भएका दिपेशका अनुसार घर नजिकै अनौंठो वस्तु उनीहरुले भेटेका थिए । जसलाई ल्याएर हम्मर (ढुङ्गा फुटाउने औंजार) ले हिर्काउदा विष्फोट भएको थियो ।

घटनास्थलमा अर्को पनि शंकास्पद वस्तु भेटिएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले बताए । जसलाई नेपाली सेनाको डिस्पोजर टोलीले डिस्पोज गराएका छन् । उक्त विष्फोटक पदार्थ द्वन्द्वकालीन अवस्थाको हो कि होइन, किन र कसले त्यहाँ राख्यो, थाहा हुन बाँकि छ ।

घटना र विष्फोटक वस्तुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख, प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारीले बताए ।