Advertisement Ad

पाँचथरमा १४० औं फाल्गुनन्द जन्मजयन्ती मनाइयो, हाफ म्याराथनको उपाधी रुपेश र सुमित्रालाई

Advertisement Ad

२६ कार्तिक २०८१, पाँचथर। राष्ट्रिय विभूती तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको १४० औं जन्म जयन्तीका अवसरमा पाँचथरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ।

फाल्गुनन्दको समाधि रहेको सिलौती, फाल्गुनन्दको कर्मभूमी लब्रेकुटी, फालेलुङ र याङवरक गाउँपालिकाको संगमस्थल चरिभञ्ज्याङ, फिदिम–४ को ऐतिहासिक सुम्हात्लुङ गढी, याङनाम र यासोक सहितका स्थानमा विभिन्न कार्यक्रम गर्दै फाल्गुनन्दको जन्मजयन्ती मनाइएको हो।

चरिभञ्ज्याङमा आयोजित कार्यक्रममा किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुआमा साँबा पवित्राहाङ लिङदेन सहितका धार्मिक अभियन्ताहरुले सम्बोधन गरेका थिए। लब्रेकुटीमा आयोजित कार्यक्रममा फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले सम्बोधन गरे। सो अवसरमा कवि पूर्व तुम्बापोद्वारा लिखित ‘लब्रेकुटीमा साकाहारी कुकुर’ नामक कविता कृतिको गृह बिमोचन पनि गरिएको थियो।

महागुरु फाल्गुनन्दले वि.सं.१९९८८ सालमा पाँचथरको लब्रेकुटीमा समाज सुधारका लागि सत्यधर्म मुचुल्का जारी गरेका थिए। सत्यधर्म मुचुल्कामा नारी सृष्टिकर्ता भएकाले उसको उच्च सम्मान गर्ने, छोरीचेलीको विवाहमा सोतरित सुनौली रुपौली नलिने, विभिन्न कर्मकाण्ड र पूजाआजा गर्दा मद्यपान र पशुपंक्षी वध नगर्ने, याक्थुङ (लिम्बू) भाषा तथा लिपीको अध्ययन, अध्यापन गर्ने, गराउने आदि बुँदा उल्लेख छन्।

समाज सुधार अभियानका क्रममा फाल्गुनन्दले पॉचथरको लब्रेकुटीमा १६ वर्ष बिताएका थिए। । यहॉ अहिले पनि उहॉको दुर्लभ कपाल, १९८८ सालको तान्त्रिक युद्वमा चर्केको थाल र फाल्गुनन्द सुतेको खाट सुरक्षित साथ राखिएको छ।

फाल्गुनन्द जयन्तीको अवसर पारेर ती वस्तुको दर्शन र अवलोकन गरिएको थियो। वि.सं.१९४२ साल कार्तिक २५ गते इलामको इभाङ चुक्चिनाम्बामा जन्मेका महागुरु फाल्गुनन्दको निधन २००५ साल चैत २२ गते भएको थियो। फाल्गुनन्दलाई नेपाल सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभुती घोषणा गरेको हो ।

हाफ म्याराथनको उपाधी रुपेश र सुमित्रालाई
१४० औं फाल्गुनन्द जन्मजयन्तीको अवशरमा फाल्गुनन्दको कर्मभूमी लब्रेकुटीमा आयोजित हाफ म्याराथनको उपाधी पूरुषतर्फ पाँचथरका रुपेश तामाङ र महिलातर्फ नेपाल पुलिस क्लवकी सुमित्रा चौधरीले जितेका छन्।

पूरुषतर्फ पाँचथरका रुपेश तामाङ (चेष्ट नं.३) प्रथम हुँदा पाँचथरकै ओसन राई (चेष्ट नं.१६) र ताप्लेजुङका भिया लिम्बू (चेष्ट नं.१५) क्रमशः द्वितीय र त्रितीय भए। उनीहरुले क्रमशः ३० हजार रुपैंयाँ, २० हजार रुपैंयाँ र १० हजार रुपैंयाँ नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे।

महिलातर्फ नेपाल पुलिसि क्लवकी सुमित्रा चौधरी (चेष्ट नं.१००) प्रथम हुँदा पाँचथरकी पुष्पा शेर्मा (चेष्ट नं.९८) द्वितीय र भोजपुरकी जुलिन राई (चेष्ट नं.९७) त्रितीय भए। उनीहरुले क्रमशः १० हजार रुपैंयाँ, ५ हजार रुपैंयाँ र ३ हजार रुपैंयाँ नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे।

राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको कर्मभूमी सिलौटी–लब्रेकुटी क्षेत्रको पर्यटन प्रबद्र्धनमा सहयोग पुगोस भन्ने उदेश्यले किरात धर्म तथा साहित्य उत्थान संघ पाँचथर र किरात साङ्सेन वरक् चोत्लुङ महाङ्हिम लब्रेकुटीको सहयोगमा म्याराथन आयोजना गरिएको आयोजक एथलेटिक्स संघ पाँचथरका अध्यक्ष पूर्णहाङ तुम्बापो रेन्जोले बताए।