६ पुस २०८१, तेह्रथुम। खोला किनारामा टिकटक बनाउने क्रममा शनिबार दिउँसो एक विद्यालय नर्स र एक विद्यार्थीको खोलाले बगाएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत विद्यालय नर्स अन्दाजी २३ वर्षीया रविना राजवंशी र सोही विद्यालयमा कक्षा–७ मा अध्ययनरत अन्दाजी १३ वर्षका सुस्मिता भट्टराई रहेका छन् ।
विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिवार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोलाको किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरुलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो । दिउँसो खोलाले बगाएको उनीहरुको खोजी गर्ने क्रममा बेलुकी पाँच बजेतिर मृत्यु अवस्थामा भेटिएका विद्यालयका सहायक प्रधानाध्यापक सापकोटाले बताए।
उनीहरुसँगै घुम्न गएका अन्य साथीहरुले नजिकै रहेको हाइड्रोपावरका कर्मचारीलाई घटनाबारे खबर गरेका थिए । स्थानीय र हाइड्रोपावरका कर्मचारीहरुले खोजी कार्य गर्ने क्रममा दुबै जनालाई मृत अवस्थामा भेट्टाएका जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख, प्रहरी नायव उपरीक्षक चिनिमाया तामाङले जानकारी दिए।
दुबै जनाको शव खोरङ्वा खोला किनारामा राखिएको छ । कागजी प्रक्रिया पूरा गरेर आइतबार मात्र शवहरुको पोष्टमार्टम गरिने प्रहरी नायव उपरीक्षक तामाङले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाईएको छ ।
