सन्देश सुब्बा
७ पुस २०८१, पाँचथर। सदरमुकाम फिदिममा शनिबारदेखि सुरु भएको ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज (आइतबार) काठमाडौंको मछिन्द्र फुटवल क्लव र झापा–११ बीच प्रतिश्पर्धा हुँदैछ।
आजको खेलमा अघिल्लो संस्करणको विजेता झापा–११ विपक्षि टिमलाई रोक्दै प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न चाहन्छ। उता फिदिमे मैदानमा पहिलोपल्ट खेल्न आएको ‘ए’ डिविजन क्लव मछिन्द्र पनि प्रतियोगितामा आफ्नो डेब्यु खेललाई सुखद बनाउदै अघि बढ्न चाहन्छ।
लिग लिडर समेत बनिसकेको मछिन्द्र र मोफसलको राम्रो टोली मानिएको झापा–११ बीचको आजको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। खेल दिउँसो दुई बजेदेखि फिदिम माविको खेलमैदानमा हुने प्रतियोगिताका मिडिया फोकल पर्सन दिपक बोहोराले बताए। खेलको प्रत्यक्ष अवलोकनका लागि प्रतिटिकट १ सय ५० रुपैंयाँ तोकिएको छ।
यसअघि हिजो (शनिबार) भएको प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली भारतको खर्साङ फुटवल क्लवलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउदै आयोजक फिदिम स्पोर्टिङ क्लव क्वाटरफाइनल प्रवेश गरेको छ।
