अर्जुन तुम्बापो
दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ, जेजु दो शाखा, दक्षिण कोरियाको आयोजनामा जनवरी ५ मा शुभकामना आदान–प्रदान एवंम् साँस्कृतिक कार्यक्रमसँगै दक्षिण कोरियामा यस वर्षको चासोक तङनाम समापन भएको छ।
किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया केन्द्र सिओलसँगै शाखाहरु बुसान र छल्लादोपछि अन्तिम कार्यक्रमको रुपमा जेजु दो शाखामा कार्यक्रम सम्पन्न भएसँगै दक्षिण कोरियामा यस वर्षको चासोक तङनाम विशेष कार्यक्रम समापन भएको हो।
जेजु दो शाखामा आयोजित चासोक तङनाम विशेष शुभकामना आदान–प्रदान तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि, कियाचु दक्षिण कोरिया केन्द्रका महासचिव हर्क चेम्जोङले गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि चेम्जोङसँगै नेपाल आदिवासी जनजाति महासंघ, जेजु दो शाखा उपाध्यक्ष सरु राई, एनआरएन जेजु दो शाखा सचिव खगेन मोक्तान, कियाचु जेजु दो शाखा संरक्षक सुमन हाङस्रोङ, कियाचु बुसान शाखा अध्यक्ष प्रताप इधिङ्गो, छल्लादो शाखा अध्यक्ष गणेश लिम्बू लगायतले शुभकामना मन्तव्य राखेका थिए। भूपेन्द्र फागोबाट चासोक अनुष्ठान गरिएको थियो।
कार्यक्रममा गायक मिथुन तुम्बापो, मनिष लिम्बू, ऋचा ब्लोन र प्रेम शंकरले गायन तथा निकिला कार्की, कोपिल राई र मिलन केसीले नृत्यु प्रस्तुत गरेका थिए। त्यस्तै केलाःङ् (च्याब्रुङ नाच) र साकेला नाच पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रम किरात याक्थुङ चुम्लुङ, जेजु दो शाखा, दक्षिण कोरियाका अध्यक्ष सुष्मा नाल्बोको अध्यक्षतामा सम्पन्न भएको थियो।



