२१ फागुन, २०८१ पाँचथर । पाँचथरको फालेलुङ गाँउपालिकाको थाप्लिटारमा चैत १८ गतेदेखि दोश्रो फालेलुङ पर्यटन महोत्सव आयोजना गरिने भएको छ ।
भारतसँग सिमाना जोडिएका पर्यटकीय स्थलको प्रवर्धन गर्ने उद्धेस्यले महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवको प्रवर्धन फालेलुङ गाउँपालिकाले गरेको छ भने तीन सिमाना जन सेवा समाजले व्यवस्थापनको जिम्मेवारी लिएको छ । त्यस क्षेत्रमा रहेका लाम पोखरी, सुके पोखरी, भैसेपोखरी, हेवा गङ्गा, तीनछाँगे झर्ना, पानावा झर्ना, मुवा झर्ना, नरेलुङ धाम, पुस्तके ढुङगा जस्ता पर्यटकीय स्थल र त्यहाँ पाइने २८ प्रजातीका गुराँस डिवुटी, रेडपाण्डा, गिद्वभालु, बँदेल, बनकुकुर, मृग, भीर मौरी, कण्ठे चाँचर, भ्याकुर, प्युरा लगायतका पंक्षीको संरक्षणका लागि महोत्सवले सघाउ पुर्याउने आयोजक तीन सिमाना सेवा समाजका अध्यक्ष योगेन्द्र सावदेनले जानकारी दिए ।
चैत २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा पर्यटकीय र धार्मिक स्थलको प्रचार प्रसारका लागि खेलकुद अन्तरक्रिया, भ्रमण र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने बताइएको छ । महोत्सवमा दश हजारको सहभागिता रहने अनुमान गरिएकाे छ । महोत्सवका अवसरमा सूर्योदय र सूर्यास्तको अवलोकन, पुरुष फुटवल, महिला म्याराथन र याक दौड जस्ता कृयाकलाप सचालन गरिने आयोजकले जनाएको छ ।
फिदिममा आयोजित पत्रकार सम्मेलनमा आयोजक तीन सिमाना जनसेवा समाजका पदाधिकारीहरूले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । महोत्सव आयोजना स्थलबाट कञ्चनजङ्घा, कुम्भकर्ण र सगरमाथा सहितका आधा दर्जन भन्दा धेरै हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।
