Advertisement Ad

Advertisement Ad

तुम्बेवा महोत्सवमा राष्ट्रव्यापी कविता प्रतियोगिता हुँदै

२० फागुन २०८१, पाँचथर। दक्षिणी पाँचथरको तुम्बेवा गाउँपालिकास्थित मौवा बजारमा यहीं फागुन २७ देखि पाँच दिनसम्म चल्ने प्रथम तुम्बेवा महोत्सवको अवसरमा राष्ट्रव्यापी कविता प्रतियोगिता हुने भएको छ।

तुम्बेवा गाउँपालिकाको सहयोगमा कोर्काली अध्ययन केन्द्र पाँचथरले राष्ट्रव्यापी कविता प्रतियोगिता गर्न लागेको हो। प्रतियोगितामा सहभागि हुनका लागि यहीं फागुन २५ गते दिउँसो दुई बजेभित्रमा आयोजकलाई प्राप्त हुने गरी कविता पठाइसक्नुपर्नेछ। प्राप्त कविताहरुमध्येबाट छनोट गरी छनोटमा परेका कविहरुलाई प्रतियोगिता आयोजनास्थलमा कविता वाचनका लागि बोलाइने कोर्काली अध्ययन केन्द्रका अध्यक्ष रविन तिम्सिना कोर्कालीले बताए।

छनोटमा परेका कविहरुलाई खान र बस्नको व्यवस्था आयोजकले गर्नेछ। प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार रुपैंयाँ, द्वितीय हुनेले नगद २५ हजार रुपैंयाँ र त्रितीय हुनेले नगद १२ हजार रुपैंयाँ पुरस्का प्राप्त गर्नेछन्।

प्रथम तुम्बेवा महोत्सवको अवसरमा साहित्यिक कार्यक्रमसँगै कृषि प्रदर्शनी, रैथाने संस्कृति प्रदर्शनी, पूरुष तथा महिला फुटवल प्रतियोगिता र तुम्बेवा गाउँपालिकालाई चिनाउने कार्यक्रमहरु राखिएका गाउँपालिकाका अध्यक्ष बाबुराम खड्काले बताए।

महोत्सवलाई भव्य बनाउन तयारी तिव्र पारिएको छ। महोत्सव आयोजना हुने स्थल तुम्बेवा गाउँपालिकाको सेवा केन्द्र मौवा बजारलाई श्रृङ्गार्ने काम भइरहेको पालिका उपाध्यक्ष खड्ग सुन्दर सम्बाहाम्फेले जानकारी दिए।