Advertisement Ad

Advertisement Ad

विजयपुर घोषणापत्र जारी गर्दै लिम्बू पत्रकार संघको बैठक सम्पन्न

२० वैशाख २०८२, धरान। तीन बुँदे विजयपुर घोषणापत्र जारी गर्दै लिम्बू पत्रकार संघको पूर्ण बैठक शनिबार ऐतिहासिकस्थल विजयपुरगढी सुनसरी, धरानमा सम्पन्न भएको छ।

अन्तरराष्ट्रिय प्रेस स्वतन्त्रता दिवशको शन्दर्भ पारेर बसेको संघको बैठकले ३२ औँ अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा संसारभरका सञ्चारकर्मी एवम् पत्रकारहरुमा शुभकामना व्यक्त गरेको छ। साथै, मिडियामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चितताका लागि सञ्चारमाध्यम, सञ्चार गृह र राज्यको ऐन, कानूनहरु आदिवासी जनजाति, अल्पसंख्यक र सिमान्तकृत समुदाय, वर्ग र भूगोलमैत्री बनाउन माग गरेको छ।

त्यस्तै ताप्लेजुङमा अवस्थित प्रशिद्ध मुन्धुमी स्थल मुक्कुम्लुङ/सेमुक्तुगोक्मु/क्तिफोमाङ/पाथीभरामा निर्माण गर्न लागिएको केबुलकार परियोजना आदिवासी याक्थुङ (लिम्बू) समुदायको आदिम मूल्यमान्यता, रैथाने दर्शन, पर्यावरण, परम्परा, प्रथा विपरीत रहेको ठहर गर्दै सशक्त रुपमा बौद्धिक र प्राज्ञिक हिसाबले सञ्चारमाध्यमहरुमा प्रतिरोध गर्ने र जारी नो केबुलकार अभियानमा ऐक्यबद्धता प्रकट गर्ने निर्णय समेत बैठकले गरेको छ।

विजयपुर दरबार परिसरमा रहेका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वको संरचनाहरुको संरक्षण, सम्बद्र्धन र प्रचारप्रसारका लागि राज्यका तीनै तहका सरकारहरु समक्ष बैठकले माग गरेको छ । यसैगरी, विजयपुरगढी याक्थुङ (लिम्बू), लिम्बुवानकालीन एवम् विजयपुरकालीन इतिहाससँग सम्बन्धित रहेकोले बृहत्तर विकासका लागि स्थानीय रैथाने समुदायको स्वामित्व रहने गरी प्राधिकरण मार्फत विकास गर्न र विश्व सम्पदा सूचीमा सूचीकरण गर्न पनि बैठकले माग गरेको छ ।

संघका अध्यक्ष सन्देश सुब्बा अध्यक्षता तथा वरिष्ठ पत्रकार हर्ष सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले रिक्त रहेको संघको संघीय सदस्यमा याम माबोहाङ (इलाम) भूमिका लिम्बू फियाक (झापा), यसोदा सेने (सुनसरी), सीता तुम्खेवा (उपत्यका), गंगा लिङखिम (ताप्लेजुङ) र इवारा जबेगु (पाँचथर)लाई मनोनित गर्ने निर्णय गरेको संघका उपाध्यक्ष सुजता लिम्बूले बताइन्।

त्यस्तै बैठकले १७ सदस्यीय लिम्बू पत्रकार संघ, तुम्याहाङ परुप् समेत निर्माण गरेको छ। बैठकले संघका सबै जिल्ला कार्य समिति र उपत्यका समितिको अधिवेशन यहीं जेठ १५ गतेभित्रमा र लिम्बुवान प्रदेश समितिको अधिवेशन जेठ मासन्त भित्रमा सम्पन्न गर्ने निर्णय समेत गरेको संघका महासचिव जीवन लिम्बूले बताए।

बैठक तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि हर्ष सुब्बासँगै, पत्रकार प्रदीप मेन्याङबो, भैरव आङला, निलिफा सुब्बा, किरात याक्थुङ चुम्लुङ सुनसरीका अध्यक्ष मोहन हुक्पा चोङबाङ, लिम्बू पत्रकार संघ यूकेका संयोजक, कवि तथा लेखक अमित थेबे, पत्रकार स्वर्णिमहाङ फोम्बो लगायतको उपस्थिति रहेको थियो। बैठक तथा कार्यक्रममा उपस्थित अग्रज पत्रकार र अन्य व्यक्तित्व साथै बैठक सम्पन्न गर्न सहयोग गर्ने किरात याक्थुङ चुम्लुङ सुनसरी र लिम्बू पत्रकार संघ, जिल्ला कार्य समिति सुनसरीलाई संघका अध्यक्ष सन्देश सुब्बाले धन्यवाद ज्ञापन गरेका थिए।