२८ वैशाख २०८२, पाँचथर। ऐतिहासिक फुङसिङ मेला–२०८२ को अवसरमा आजदेखि अन्तर–वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ । पाँचथर जिल्लाको मिक्लाजुङ र इलाम जिल्लाको फाकफोकथुम गाउँपालिकाको संगमस्थल फुङसिङ डाँडामा हरेक वर्ष उभौलीमा लाग्ने तीन दिने मेलाको अवसरमा भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
किरात युथ क्लब, मिक्लाजुङ–१ ले आयोजना गर्ने प्रतियोगितामा पाँचथरसहित इलाम, झापा र मोरङ जिल्लाबाट विभिन्न वडाका टिमहरु सहभागि हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउनका लागि प्रतियोगितामा सहभागि हुने वडाको टिमले आफ्नो वडाबाहिरका दुईजना खेलाडीलाई टिममा समावेश गर्न पाइने नियम राखिएको छ ।
अघिल्लो वर्ष प्रथम र दोस्रो पुरस्कार क्रमशः २५ र १५ हजार रुपैंयाँ रहेकोमा यसवर्ष पुरस्कार राशिमा दोब्बरले वृद्धि गर्दै प्रथम र दोस्रो पुरस्कार क्रमशः ५० र ३० हजार रुपैंयाँ राखिएको छ । विजेता र उपविजेता टिमले नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्र पनि प्राप्त गर्नेछन् ।
विधातर्फ सर्वोत्कृष्ट खेलाडीसहित थप चार विधाका उत्कृष्ट खेलाडीहरुलाई पनि नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।

