Advertisement Ad

Advertisement Ad

दाहसंस्कार गर्न लगिएकी बालिकाको शव नियन्त्रणमा, अनुसन्धानमा परिवारकै मानिस तानिए

कृष ढुंगाना

९ जेष्ठ २०८२, पाँचथर। संखुवासभा प्रहरीले जिल्लाको भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया बालिकाको एम्बुलेन्स मार्फत् घरतर्फ लग्दै गरेको शव बाटैबाट नियन्त्रणमा लिएको छ।
भोटखोला–४ सिप्प्रङका गोपाल तामाङकी ६ वर्षीया छोरी युनिका तामाङको शव खाँदबारी नगरपालिका–३ गुरुङचोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए।

बिहीबार बिहान करिब ७ बजे गुरुङचोकबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतको टोलीले एम्बुलेन्स सहित शव नियन्त्रणमा लिएको हो। वैशाख ३० गते घरायसी विवादका क्रममा जेठाजु गोपाल तामाङ र भाइबुहारी कल्पना (गुरुङ) तामाङबीच झगडा भएको थियो।

झगडाका क्रममा भाइबुहारी कल्पनाले भतिजी युनिकालाई धकेल्दा डिलबाट लडेर गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते युनिकाको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो। प्रहरीका अनुसार युनिकाको नोबेल अस्पतलमा उपचारका क्रममा जेठ ७ गते बुधबार मृत्यु भएको हो।

प्रहरीले गोपालकी भाइबुहारी कल्पनालाई भोटखोला–४ सिप्प्रङबाट पक्राउ गरेको जनाएको छ। घटनाको बारेमा मृतकका बुबा गोपाललाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।