९ जेठ २०८२, पाँचथर। फिदिम नगरपालिकाको सहयोग तथा भक्तपुर क्यान्सर अस्पतालको विशेषज्ञ एवम् प्राविधिक सहयोगमा महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षण शिविर सुरु भएको छ।
जिल्ला अस्पताल पाँचथरमा शुक्रबार बिहान शिविरको शुभारम्भ गरिएको थियो। शिविरमा भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक, क्यान्सर रोग विशेषज्ञ डा.उज्ज्वल चालिसे नेतृत्वको १८ जना क्यान्सर विशेषज्ञ चिकित्सकहरुको टोलीले सेवा दिनेछ।
शनिबारसम्म चल्ने शिविरबाट दुुई हजारभन्दा बढी महिलाहरुलाई सेवा दिने लक्ष्य राखिएको छ। शिविरमा परीक्षणको क्रममा क्यान्सरको लक्षण देखिएका बिरामीलाई निशुल्क औषधीउपचार गरिने समेत भक्तपुर क्यान्सर अस्पतालका निमिक्त कार्यकारी निर्देशक चालिसेले बताए।
शिविरमा भिडियो एक्स–रे र अल्ट्रासाउण्ड सेवा पनि उपलब्ध हुनेछ। शिविर बिहान आठ बजेदेखि साँझ छ बजेसम्म सञ्चालन हुने बताइएको छ। जिल्लामा महत्वपूर्ण शिविर सञ्चालन गरिएकाले अवसरको सदुपयोग गर्न फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेले बताए।
फिदिम नगरपालिकाले नगरवासी तथा जिल्लावासीको सुविधालाई मध्यनजर गरेर हरेक वर्ष विभिन्न शिविर सञ्चालन गरिँदै आएको नगरप्रमुख मित्र प्रसाद काफ्लेले बताए। शिविरले विविध कारणले स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न नसकेका दिदीबहिनीहरुलाई जिल्लामै परीक्षण गर्ने अवसर प्रदान गर्ने नगरप्रमुख काफ्लेले बताए।
शिविर उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख काफ्लेले यो शिविर सञ्चालनका लागि हालः क्यान्सर रोगसँग लडिरहेका पाँचथरका पत्रकार कविन्द्र शेर्माको पनि योगदान रहेको उल्लेख गरे। घाँटीमा क्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत पत्रकार शेर्माको पछिल्लो समय हड्डीमा समेत क्यान्सर देखिएको बताइएको छ।


