Advertisement Ad

Advertisement Ad

स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविरमा २१ सय बढीले सेवा लिए

सन्देश सुब्बा

११ जेठ २०८२, पाँचथर। सदरमुकाम फिदिममा शनिबार सम्पन्न निशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविरमा कूल दुई हजार १२० जनाले सेवा लिएका छन्।

शिविरमा एक हजार ५०२ जनाले पाठेघरको मुखको क्यान्सर जाँच गराएका छन्। त्यस्तै एक हजार ५२६ जनाले स्तन क्यान्सरको जाँच गराएका छन्। शिविरमा ३५६ जनाले अन्य रोगको जाँच गराएका थिए भने २०७ जनाले भिडियो एक्स–रे गराएका थिए।

आयोजकले दिएको जानकारी अनुसार ३१ जना आङ खसेका बिरामीहरुको जाँच गरिएको थियो । शिविरमा परीक्षण गराएकामध्ये २४ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको र उनीहरुलाई सल्यक्रियाका लागि भक्तपुर क्यान्सर अस्पताल रेफर गरिएको बताइएको छ।

फिदिम नगरपालिकाको सहयोग र भक्तपुर क्यान्सर अस्पतालको विशेषज्ञ एवम् प्राविधिक सहयोगमा निशुल्क शिविर आयोजना गरिएको हो। शिविरमा भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक, क्यान्सर रोग विशेषज्ञ, डा.उज्ज्वल चालिसे नेतृत्वको विशेषज्ञ चिकित्सकहरुको टोलीले सेवा सेवा दिएका थिए।

जिल्लामै स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध हुनु खुसीको कुरा भएको शिविरमा भेटिएका सेवाग्राहीले बताए। शिविरले महिला दिदीबहिनीहरुलाई ठूलो लाभ मिलेको शिविरमा परीक्षण गराउन आएकी फिदिम नगरपालिका–७ की भिमा कुमारी दुलाल बाँस्कोटाले बताइन्।

जिल्ला अस्पताल पाँचथरमा शुक्रबार र शनिबार सञ्चालन भएको शिविरमा कूल दुई हजार १२० जना बिरामीले सेवा लिएका थिए। शिविरमा परीक्षण गर्न आएका करीब ८० प्रतिशत महिलाहरुमा पाठेघर सम्बन्धी केही न केही समस्या देखिएको र यो चिन्ताको किवषय भएको भक्तपुर क्यान्सर अस्पतालका नर्सिङ प्रमुख लक्ष्मी श्रेष्ठ बताउनुभयो।

शिविरमा विशेषज्ञ चिकित्सक टोलीको नेतृत्व गरेका भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक, क्यान्सर रोग विशेषज्ञ, डा.उज्ज्वल चालिसेले परीक्षणमा आएका महिलाहरुको स्तन क्यान्सर सम्बन्धी ठूलो समस्या नदेखिएको तर पाठेघर र अन्य समस्याहरु पहिचानको पहिचान भएको बताए ।

फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेले शिविरले महिला दिदीबहिनीहरुलाई जिल्लामै विशेषज्ञ चिकित्सकबाट स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गराउने अवसर मात्र होइन क्यान्सर सचेतना जगाउन समेत सहयोग पुगेको बताए।

जिल्लाबासी नागरिकको स्वास्थ्य समस्या र सुबिधालाई मध्यनजर गर्दै फिदिम नगरपालिकाले वर्षेनी निशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ। शिविरमा जिल्लाबासी मात्र नभएर छिमेकी जिल्ला तेह्रथुम र ताप्लेजुङका महिलाहरुले समेत सेवा पाएका छन्।

फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्लेले शिविर सम्पन्न गर्न विशेषज्ञ तथा प्राविधिक सहयोग गर्ने भक्तपुर क्यान्सर अस्पताललाई धन्यवाद दिंदै आगामी दिनमा समेत नगरपालिकाले स्वास्थ्य सम्बन्धी अन्य शिविरहरुको आयोजना गर्ने प्रतिबद्धता जनाए।