३० जेठ, २०८२ पाँचथर । फिदिम १४ स्थित लुङरुपामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
विहिवार फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा अस्थायी प्रहरी पोष्टको उद्घाटन गरिएको हो । लुङरुपा क्षेत्रको सुरक्षा संवेदनशिलता र स्थानियको मागलाई मध्यनजर गर्दै प्रहरी पोष्ट स्थापना गरिएको प्रहरी नायव उपरिक्षक कौशल कुमार बुढाथोकीले बताए । लुङरुपामा प्रहरी सहायक निरिक्षकको नेतृत्वमा ६ जना प्रहरी खटाइएको समेत डिएसपी बुढाथोकीले बताए ।
उक्त कार्यक्रममा फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद भट्टराई, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि र स्थानियवासीको उपस्थिति रहेको थियो ।
अस्थायी प्रहरी पोष्टका लागि पुरानो गाविस भवनलाई मर्मत सम्भार गरी स्थापना गरिएको फिदिम १४ का वडाध्यक्ष राजकुमार नेम्वाङले बताए । प्रहरी पोष्टमा तत्काल आवश्यक सामग्रीहरु फिदिम नगरपालिकाले व्यवस्थापन गरेको बताइएको छ ।



