Advertisement Ad

Advertisement Ad

हेवाखोलाको बेलिब्रिज भत्किदा घाइते भएका तीन मजदुरको मृत्यु

१ असार २०८२, पाँचथर। मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड अन्तर्गत पाँचथरको हेवाखोलामा निर्माणाधिन बेलिब्रिज भत्किदा घाइते भएका तीन जना मदजुरको मृत्यु भएको प्रहरीले पृष्ठि गरेको छ।

शनिबार बेलुकी ६ः२० बजेतिर फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सिमाना भएर बग्ने हेवाखोलामा निर्माणाधिन बेलिब्रिज अचानक भाच्चिएको थियो। सो क्रममा घाइते भएका छ जना मदजुरमध्ये तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख, प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीले पृष्ठि गरे।

मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिका–१२ बस्ने २२ वर्षीय रुपलाल चौधरी, सोही स्थान बस्ने २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन्। बाहिरी चोटपटक नदेखिएका, बोल्न नसक्ने गम्भीर अवस्थामा रहेका उनीहरुलाई जिल्ला अस्पताल पाँचथरदेखि थप उपचारका लागि नोबेल टिचिङ अस्पताल विराटनगर रेफर गरिएको थियो।

उनीहरुलाई आइतबार बिहान १ः०५ बजेदेखि १ः१५ बजेको अवधीमा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनामा परी बाराको सिमरा उपमहानगरपालिका–१२ घर भएका २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि नोवेल शिक्षक अस्पताल विराटनगर लगिएको छ।

बेलिब्रिज जडान अन्तिम चरणमा पुगेको थियो। फिदिमतर्फ रहेको वेश ठेलेर हिलिहाङतर्फको जगमा टेकाइएको केहीबेरमै भाच्चिएको थियो। हेवाखोलाको मोटरेवल पुल २०८० असार २ गते बाढीले बगाएको थियो। त्यसपछि जोडिएको बेलिब्रिजलाई पनि पुनः बाढीले बगाएपछि दोस्रोपल्ट जोडन् लागिएको बेलिब्रिज जोडिनसक्दै भाच्चिएको हो।

हेवाखोलामा डाइभर्सन मार्फत् सवारीसाधन आवतजावत भइरहे पनि ठूलो बर्षात् हुँदा सवारी अवागमन प्रभावित हुने गरेको छ। यसबाट पाँचथरको हिलिहाङ याङवरक, फालेलुङका केही भू–भाग र ताप्लेजुङको जनजीवन प्रभावित हुँदै आएको छ।