– प्रेमिला राई
मेरो रगतमा के छ त्यस्तो खराबी
जो तिम्रोभन्दा फरक होस् ?
होला
मैंले बोल्ने भाषा फरक होला
मैंले पहिरिने पहिरन फरक होला
यद्यपी
तिमी र म एउटै आकाशमुनि छौं
तिमी र म एउटै धर्तीमा उभिएका छौं
तिमीले फेर्ने सास र मैंले फेर्ने सास
एउटै वतासको हिस्सा हो
मैंले टेकेको धर्ती
तिमीले पनि त टेकेका छौ
मेरो शीरमा उदाउने सूर्य
तिम्रो शीरमा पनि त उदाएको छ
अर्थात् हामी एउटै सूर्यको
उज्यालो र अँध्यारोसँग लुकामारी खेलिरहेछौं
मेरो बलेसीमा खस्ने जून
तिम्रो बलेसीमा पनि खस्छ
तब
एउटै साझा घामजूनसँग
हाम्रो समान सम्बन्ध छ
भन त तिमी र म मा खास फरक के छ त्यस्तो ?
होला, तिम्रो स्वाद फरक होला
मेरो स्वाद फरक होला
होला, तिमीले पुज्ने ईश्वर
र
मैंले पुज्ने ईश्वर फरक होला
आस्था र विश्वास फरक होला
तर
तिम्रो नशा–नशा बग्ने रगत
र
मेरो नशा–नशा बग्ने रगत त रातै छ नि
भन तिमी र मबीच फरक के छ त्यस्तो ?
होला
मेरो सभ्यताको इतिहास फरक होला
तिम्रो सभ्यताको इतिहास फरक होला
तर
एउटै साझा मानव इतिहास छ हामीसँग
मैंले तिम्रो सभ्यतामा कहिल्यै ढुङ्गा हानिंन
कहिल्यै चोर औँला उठाइँन
तर
मेरो सभ्यतामाथि किन धावा बोलिरहेछौ तिमी ?
मेरो अस्तित्व विरुद्ध किन उभिरहेछौ तिमी ?
होला, तिमीले जिउने तरिका फरक होला
मैंले जिउने तरिका फरक होला
तर
हाम्रो जीवनको बाटो त समान छ
तिमी हिंड्ने बाटोमा
म कहिल्यै तगारो बनेर उभिन
तर
म हिंडिरहेको बाटो किन भत्काइरहेछौ तिमी ?
ए बन्धु !
कुनै पनि बेला
यदि
तिम्रा प्रहारहरू तिमीतिरै फर्कियो भने
तिमी रहौला कि नरहौला ?