१३ पुस २०८०, पाँचथर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ठूला नेताको संलग्नता देखिन लाग्दा एनसेल र नक्कली भुटानी शरणार्थी प्रकरण ओझेलमा पारिएको आरोप लगाएका छन्।
शुक्रबार सदरमुकाम फिदिममा नेपाली कांग्रेस पाँचथरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्। ठूला काण्डमा ठूला नेताको संलग्नता देखिन लाग्दा ती प्रकरणलाई ओझेलमा पार्न खोजिएको भन्दै नेता कोइरालाले असन्तुष्टि व्यक्त गरे। उनले भ्रष्टाचारको अन्त्य, स्थिरता र समृद्धि कांग्रेको नेतृत्वबाट मात्र सम्भव हुने पनि दाबि गरे।
सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले नेपाली कांग्रेस बहुपहिचानमा विश्वास गर्ने पार्टी भएको बताए। कांग्रेसले मात्र सबैलाई जोड्न सक्ने भन्दै आङदेम्बेले पहिचानको मुद्धाको समाधान बार्ताबाट खोज्नु पर्ने बताए। सम्मेलनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले पनि सम्बोधन गरेका थिए।
नेपाली कांग्रेस पाँचथरले प्रथम जिल्ला सम्मेलनको अवशरमा वि.सं.२०१८ सालका क्रान्तियोद्धा धोबिनाथ नेम्बाङलाई सम्मान गरेको छ। सम्मेलनकै अवशरमा नेता कोइरालाले नेपाली कांग्रेस पाँचथरको कार्यालय रहने हरिहंश बहुउदेश्यीय भवनको पनि शिलान्यास गरेका छन्।
कार्यक्रममा नेपाली कांग्रेसका नेता–कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि र पार्टी सुभेच्छुहरुको सहभागिता रहेको जिल्ला सभापती रुपनारायण जवेगुले बताए।

