Advertisement Ad

गर्मीमा शरीरलाई फाइदा गर्ने यी १० फलफूल

Advertisement Ad

गर्मीमा हाइड्रेटेड रहनु निकै महत्त्वपूर्ण हुन्छ । गर्मीमा हाइड्रेटेड रहन फलफूलहरू खानु सबैभन्दा उत्तम तरिका हो । फलफूलहरूले तत्काल ऊर्जा प्रदान गर्दछ र थकान कम गर्न मद्दत गर्दछ । फलफूलले शरीरलाई हाइड्रेटेड राख्छ । गर्मी महिनामा केके फलफूल खाने भन्ने चर्चा गरौँ :

१. तरबुजा
तरबुजा बिना गर्मी मौसम अधुरो जस्तै छ । यो गर्मी मौसममा खाइने सबैभन्दा राम्रो र चिसो फल हो । तरबुजा स्वस्थ र सस्तो पनि हुन्छ । यो पानी सँगै भिटामिन ‘ए र सी’को पनि राम्रो स्रोत हो । भिटामिन ए ले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र आँखाको लागि राम्रो गर्छ । भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । तरबुजामा भिटामिन बी र पोटासियम पनि हुन्छ । पोटासियमले शरीरमा पानीको सन्तुलन कायम राख्छ भने भिटामिन बी ले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । पोटासियमले मांसपेशी दुख्नबाट पनि बचाउँछ र मुटुलाई पनि स्वस्थ राख्छ । तरबुजा खाँदा छालालाई घामको किरणबाट हुने क्षतिबाट बच्न समेत मद्दत गर्छ ।

२. आँप
आँपकै कारण गर्मी मन पराउने मानिसहरू धेरै छन् । आँप क्यालोरीमा उच्च भएता पनि पोषक तत्त्वको एक धनी स्रोत हो । आँपलाई ‘फलफूलको राजा’ भनेर चिनिनुका केही कारण छन् । यसमा फाइबर, २० प्रकारका खनिज र भिटामिन पाइन्छ । फाइबरले पाचनमा मद्दत गर्छ र पेट भरि राख्न मद्दत गर्छ । आँपमा भिटामिन ए, सी र पोटासियम पनि प्रशस्त पाइन्छ ।

३. मेवा
गर्मीमा खान सकिने अर्को फल हो– मेवा । मेवामा भिटामिन ए, सी, फोलेट र विभिन्न फाइटोकेमिकल्स जस्ता पोषक तत्त्वहरू हुन्छन् । यसले अपच कम गर्न पनि मद्दत गर्दछ । मेवा बिटा क्यारोटिनको राम्रो स्रोत पनि हो । यसले छालाको क्षतिलाई रोक्छ । मेवामा एन्टिअक्सिडेन्टको पनि राम्रो मात्रामा हुन्छ र यसले क्यान्सर र गम्भीर हृदय रोगहरूबाट बचाउन मद्दत गर्दछ ।

४. अम्बा
अम्बा गर्मीमा स्वास्थ्यलाई फाइदा गर्ने फल हो । अम्बा मधुमेह रोगीहरूको लागी राम्रो छ । यसले रगतमा चिनी र इन्सुलिनको स्तर सन्तुलित राख्न मद्दत गर्छ । यसमा घुलनशील फाइबर र पोटासियमको उच्च सामग्री हुन्छ । दिनको एउटा अम्बाले मेटाबोलिज्म, अनुहार, आँखाको ज्योति र मानसिक स्वास्थ्यमा सुधार ल्याउन सक्छ । महिनावारीको दुखाइ कम गर्न अम्बा पनि खान सकिन्छ ।

५. स्ट्रबेरी
स्ट्रबेरीलाई छालाको समस्या, दाँत सेतो पार्ने र पाचन समस्याका लागि प्रयोग गरिन्छ । स्ट्रबेरीमा फाइबर, भिटामिन सी र म्यांगनीज पनि प्रशस्त हुन्छ । स्ट्रबेरीमा फोलेट र पोटासियमको पर्याप्त मात्रा पनि पाइन्छ । गर्मीमा स्ट्रबेरी खाँदा छाला र स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।

६. आलुबखडा
आलुबखडामा प्रशस्त पौष्टिक तत्त्व पाइन्छ । यसमा फाइबर र सोर्बिटोल हुन्छ जसले कब्जियत र अन्य पाचन सम्बन्धी समस्याहरूलाई कम गर्न मद्दत गर्छ । आलुबखडाले रक्तचापको स्तरलाई कायम राखेर र स्ट्रोकबाट जोगाएर मुटुलाई स्वस्थ राख्छ । आलुबखडाको सेवनले स्तन क्यान्सर र टाइप–२ मधुमेहको जोखिम कम गर्छ ।

७. अङ्गुर
अङ्गुर गर्मीमा सजिलै पाइने फल हो । यो पोटासियमको एक धनी स्रोत हो । उच्च कोलेस्ट्रोल भएकाले समेत अङ्गुर खानु राम्रो मानिन्छ । अङ्गुरले मुटुलाई स्वस्थ राख्छ । अङ्गुरले धेरै भाइरल इन्फेक्सनलाई पनि रोक्छ र आँखाको क्षयलाई रोक्छ । यसले अपच कम गराउँछ र स्तन क्यान्सरसँग लड्न मद्दत गर्छ ।

८. भूइँकटहर
भूइँकटहर गर्मीमा सबैभन्दा धेरै रुचाइने फल मध्य एक हो । भूइँकटहरले मेटाबोलिज्म बढाउन मद्दत गर्दछ । यसले उच्च रक्तचापका बिरामीलाई समेत फाइदा गर्छ ।

९. लिची
लिची र आँप गर्मीमा मात्र पाइने दुई फल हुन् । लिची पोटासियम, पोलिफेनोल र भिटामिनको ठुलो स्रोत हो । जसले शरीरलाई धेरै फाइदा गर्छ। एन्टिअक्सिडेन्टले भरिपूर्ण लिचीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

१०. किवी
किवी सबैभन्दा पोषक तत्त्वले भरिएको फल हो । यसमा भिटामिन ए, सी, र बी, म्याग्नेसियम र फलाम पाइन्छ । किवीले रगतमा हेमोग्लोबिनको मात्रा र शरीरमा क्षारीय सन्तुलन कायम राख्न मद्दत गर्छ । किवीले निद्रा सम्बन्धी समस्याहरू पनि मद्दत गर्दछ । यो हृदय, छाला, कपाल र कलेजोको लागि फाइदाजनक छ ।

(स्वास्थ्य खबर पत्रिकाबाट)