Advertisement Ad

रहेनन् इतिहासविद् नेम्बाङ, आज अन्त्येष्टि गरिने

Advertisement Ad

४ मंसिर २०८०, काठमाडौं। इतिहासविद् कृष्णबिक्रम नेम्बाङको निधन भएको छ। उनको ८२ बर्षको उमेरमा ललीतपुरको हरिसिद्धि क्यान्सर अस्पतालमा उपचारको क्रममा आइतबार अपरान्ह निधन भएको हो।

इतिहासविद् नेम्बाङका ‘सत्र सालको क्रान्तिको सम्झना’, ‘सम्झनामा बीपी आन्दोलन’, ‘इतिहास पहिचान’, ‘डायरीमा बेलायत’, ‘लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ जस्ता महत्वपूर्ण कृतिहरु प्रकाशित छन्।

नेम्बाङ वि.सं.२०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित बीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरेसँगै पूर्वको पाँचथरबाट सशस्त्र क्रान्तिको घोषणा गर्नेमध्ये एक थिए। उनीहरुले २०१७ फागुन १६ गते पाँचथरको सुकिया पोखरीमा पहिलो फौजी कारबाही गरेका थिए।

त्यतिबेला उनीहरुले उनकै दाजु भूबिक्रम नेम्बाङको नेतृत्वमा २००७ सालको जस्तै मुक्ति सेना बनाएर सशस्त्र बिद्रोहको सुरुवात गरेका थिए। जुन नेपाली राजनीतिमा सत्र सालको क्रान्तिको नामले चर्चित छ।

गिरिजाप्रसाद कोइराला लगायत नेताहरुसँग निकट रहेर काम गरेका नेम्बाङ राजनीतिक कारण जेल समेत परेका थिए। लामो समय कांग्रेस राजनीतिमा बिताएका उनी पछिल्लो समय इतिहास लेखन र अनुसन्धानमा लागेका थिए।

पाँचथरको पौवासारताप मूलघर भएका नेम्बाङ पछिल्लो समय ललीतपुरबासी बनेका थिए। आन्द्राको क्यान्सरबाट पीडित उनको आइतबार अपरान्ह निधन भएको हो। उनकी जीवनसङ्गीनि तुलसाको पनि पाँच बर्ष अघि क्यान्सरकै कारण मृत्यु भएको थियो। नेम्बाङका चार छोरा र चार छोरी छन्।

उनको आजै (सोमबार) दिउँसो पशुपती आर्यघाटमा अन्त्येष्टि गरिने उनका छोरा धर्मेन्द्रबिक्रम नेम्बाङले बताएका छन्।