Advertisement Ad

कोरियाले भन्यो– एकै वर्ष एउटा समूहमा सहभागी परीक्षार्थी अर्को समूहको परीक्षामा सहभागी हुन नपाउने

Advertisement Ad

१७ पुस २०८०, काठमाडौं। रोजगार अनुमति प्रणालीअन्तर्गतको भाषा परीक्षा (ईपीएस) लाई लिएर नेपालमा देखिएको विवाद र समस्याप्रति नेपालस्थित कोरियाली दूतावासले उच्च चासो राखेको छ।

नेपालस्थित कोरियाली राजदूतले मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवलाई भेटेर नेपालमा विकसित घटनाप्रति चिन्ता व्यक्त गरेका हुन्। नेपालमा भइरहेको आन्दोलनले कोरियाली रोजगारदाता चिन्तित भएको राजदूतले सरकारी अधिकारीहरुलाई बताएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले जानकारी दिए। आन्दोलन जारी रहे रोजगारदाताले श्रमिक छनोटमा अनिच्छा प्रकट गर्न सक्नेतर्फ पनि नेपाली पक्षको ध्यानाकर्षण गराएका थिए।

ईपीएस रोजगारी प्रणालीमा देखिएका समस्या समाधानका लागि दुवै देशका अधिकारी सम्मिलित प्राविधिक समिति बनाएर अगाडि बढ्ने विषयमा पनि छलफल भएको मन्त्रालयका अधिकारीले जनाएका छन्।

श्रम मन्त्रालयले भने अहिले भाषा परीक्षाका विषयलाई लिएर केही विवाद देखिए पनि आगामी दिनमा त्यस्तो हुन नदिने प्रतिबद्धता जनाएको छ। श्रम सचिव भण्डारीले अदालतको आदेशका कारण सीप बिल्डिङ समूहका परीक्षार्थीलाई उत्पादन समूहको परीक्षामा सहभागी गराइएको जानकारी दिए।

उनले कोरियाली पक्षसँग अदालतको आदेश स्वीकार गरिदिन आग्रहसमेत गरेका छन्। कोरियाले एकै वर्ष एउटा समूहमा सहभागी परीक्षार्थीलाई अर्को समूहको परीक्षामा सहभागी गराउन नसक्ने भन्दै यस विषयमा अर्को चरणमा थप छलफल गर्ने बताएको छ।

(कान्तिपुरटिभी डटकमबाट)