Advertisement Ad

पाँचथरका नेताले मागे नोगेनलाई भोट

Advertisement Ad

२५ पुस २०८०, पाँचथर। द भ्वाइस अफ् नेपाल सिजन–५ को उपाधी होडमा रहेका नोगेन लिम्बू हाङसरुम्बाको लागि पाँचथरका नेताहरुले भोट मागेका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री भिष्मराज आङदेम्बेले सामाजिक सञ्जाल फेसबुकमा ‘भोट फर नोगेन लिम्बू’ लेख्दै नोगेनका लागि भोट मागेका छन्।

पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य एवंम् प्रतिनिधिसभा सदस्य वशन्त कुमार नेम्बाङले पनि नोेगेनका लागि भोट मागेका छन्। पाँचथरका संघीय सांसद नेम्बाङले फेसबुकमा उत्कृट ‘४’ मा पुगेकोमा बधाई दिंदै नोगेनलाई सहयोग गरी जिताउन आग्रह गरेका छन्।

त्यस्तै नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता, प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङबो (मौसम) ले पनि नोगेनको गायन प्रतिभाको तारिफ गरेका छन्। आङबोले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै नोगेनलाई भोट गरी विजयी बनाउन अपिल गरेका छन्।

नेकपा (माओवादी) केन्द्रका प्रदेश कमिटी अध्यक्ष हर्क बहादुर नेम्बाङ (मिक्सो) ले पनि नोगेनका लागि भोट मागेका छन्। नेम्बाङले फेसुबक मार्फत् नोगेनलाई द भ्वाइस अफ् नेपाल सिजन–५ को विजेता बनाउन आग्रह गरेका छन्।

अरु बेला आफू र आफ्नो दलका लागि भोट माग्ने पाँचथरका नेताले यसपल्ट द भ्वाइस अफ् नेपाल सिजन–५ को फाइनलिस्ट बनेका जिल्लाबासी प्रतिभा नोगेन लिम्बू हाङसरुम्बाका लागि भोट मागेका हुन्। आफ्नो जिल्लाका नेतृत्वले आफ्नो लागि भोट मागिदिंदा थप हौसला मिलेको नोगेनले बताए।

भ्वाइस अफ् नेपाल सिजन–५ का ‘४’ फाइनलिस्ट ।

द भ्वाइस अफ् नेपाल सिजन–५ को ग्राण्ड फिनाले आउने शुक्रबार हुँदैछ। दर्शकले गरेको भोटको आधारमा भ्वाइस अफ् नेपालले नयाँ विजेता प्राप्त गर्नेछ। भ्वाइसको सिजन–५ को उपाधी होडमा टिम प्रमोद खरेलबाट फाइनलिस्ट बनेका पाँचथरका नोगेनसँगै टिम राजेशपायल राईबाट मकर बहादुर योञ्जन, टिम उदउ सोताङबाट कुमार प्रयास राई र टिम मिलन नेवारबाट बिनोद राई रहेका छन्।

आफूलाई मन परेको प्रतिश्पर्धीलाई खल्ती एप डाउनलोड गरेर भोट गर्न सकिनेछ।