Advertisement Ad

पाँचथर, बरदान र नोगेन

Advertisement Ad

सन्देश सुब्बा

२५ पुस २०८०, पाँचथर। सुदूरपूर्वको पहाडी जिल्ला पाँचथर। सदरमुकाम फिदिममा अवस्थित न्यू बरदान संगीतालय। अनि, जारी भ्वाइस अफ् नेपाल, सिजन–५ को फाइनलिस्ट नोगेन लिम्बू हाङसरुम्बा। यी तीनको क्यामेष्ट्रि निकै बेजोड छ।

करीब अढाइदशक अघिको फिदिम। अहिलेको जस्तो थियो नै कहाँ र ? जिल्ला सदरमुकामै भए पनि भौतिक बिकासले नछोएको फिदिम त्यतिबेला दूरदराज नै थियो। अर्थात् भनौं– एउटा दुर्गम पहाडी जिल्लाको मुकाम थियो, फिदिम। मेचीमार्गले मध्यभागबाट चिरेर गएको फिदिम त्यहिं सडकको धुलोले पुरिएर फुङ्ग अनि उदास देखिन्थ्यो।

तर, उसबेला पनि फिदिममा कला, साहित्य र संगीतका गतिबिधि भने प्रसस्तै हुन्थे। त्यहिं समयको पेरिफेरिमा जन्मियो एउटा संगीत पाठशाला। जसको नाम थियो– बरदान संगीतालय। पचासको दशकको उत्तराद्र्धमा जन्मिएको त्यहिं संगीत पाठशाला अहिले बनेको छ– न्यू बरदान संगीतालय।

यो अढाइदशक पेरिफेरिमा फिदिममा करीब दुई दर्जनकै संख्यामा जन्मिए अन्य संगीतालय र कला केन्द्र। यद्यपी, एकाध बाहेक समयको गर्तमा कतै बिलाए। अर्थात् हिउँदमा सुकिजाने बर्खाको खहरेझैं गोहो नै नभेटिने गरी कतै हराए।

तर, अनेकौं अप्ठ्यारा र कैयौं पेचिला परिस्थितिहरुको सामना गरेरै निरन्तर चलिहह्यो, न्यू बरदान संगीतालय। अहिले पाँचथरका लागि ‘संगीत’ र ‘न्यू बरदान संगीतालय’ पर्याय जस्तै बनेका छन्। जसका कुशल चालक हुन्– बुद्धराज लिम्बू। सायद त्यसैले होला, न्यू बरदान संगीतालयका निर्देशक गायक तथा संगीतकार बुद्धराज लिम्बूलाई धेरैले पाँचथरे संगीतका स्वाभिमानको प्रतिमूर्ती मान्छन्।

यहिं न्यू बरदान संगीतालयका सेकेण्ड लास्ट प्रोडक्ट हुन्, जारी भ्वाइस अफ् नेपाल सिजन–५ का एक फाइनलिस्ट– नोगेन लिम्बू हाङसरुम्बा।

न्यू बरदान संगीतालय फिदिममा साथीहरुसँग नोगेन।

१९ बर्षीय नोगेनले ९ बर्षको उमेरदेखि न्यू बरदान संगीतालयमा सारेगम अलाप्न थालेका हुन्। त्यहिं एक दशक निरन्तर साधना गरेर खारिएका उनै नोगेन अहिले सुदूपूर्वको सुर बनेर भ्वाइस अफ् नेपालको स्टेजमार्फत देश–विदेशसम्म गुञ्जिरहेका छन्।

एककिसिमले भन्ने हो भने जबरजस्त भ्वाइसमा आएका प्रतिभा हुन्, नोगेन। उनको सोच त अझ खारिएर केहि बर्षपछि मात्र भ्वाइसमा आउने थियो। तर परिवार, साथीभाई र शुभचिन्तकले ‘ढिलो हुन्छ’ भनेपछि उनी यसैपल्ट भ्वाइसमा आउन बाध्य भए। पछिल्लो समय काठमाडौंमै बसेर मानविकीमा स्थातक गरिरहेका नोगेनलाई भ्वाइससम्म पुग्न सहज पनि थियो।

भाग्यमानी नोगेन
सांगीतिक करिअरको शन्दर्भमा नोगेनलाई भाग्यमानी नै मान्न सकिन्छ। मध्यम वर्गीय परिवारमा जन्मेका हुन्, उनी। परिवारको आर्थिक अवस्था राम्रो थिएन। उनका बाबु देउमान खाँडि मुलुक जानु परेको थियो। उनका आमा सरिता नेम्बाङ सदरमुकाम फिदिममा सानो होटल चलाउथिन्, अझै चलाउछिन्, चिया–खाजा बन्ने हिमशिखर होटल।

तर, दुई भाईमध्ये जेठा नोगेनलाई बाबु–आमाले अभाव महसुस गर्न दिएनन्। सानैदेखि पढाई र उनको रुचीको विषय संगीत बाहेक केहि गर्नु परेन उनले। आफ्नो रुचीको बाटोमा हिंड्न उनलाई परिवारबाट कहिल्यै रोकावट भएन। बरु सहयोग पाए। भ्वाइस अफ् नेपालमा जान त उनले परिवारबाट दबाब नै झेल्नुपर्यो।

आफ्नो गुरु बुद्धराज लिम्बू र पूर्व व्याडमिन्टन खेलाडी सकुन नेम्बाङसँग नोगेन।

भ्वाइसमा पनि नोगेन भाग्यमानी साबित हुँदै आएका छन्। डिजिटल र फिजिकल अडिसन पछि ब्लाइण्ड राउण्डमा उनको लागि चारचारवटामा झण्डै एउटै पनि कुर्सी घुमेन। उनी झण्डै आउट भएका हुन्। तर, अन्तिममा कोच प्रमोद खरेलले घुमाएको कुर्सी उनको ‘भाग्य’ बन्यो। जसले उनैले नसोचेको उपाधी दाबिको यात्रा तय गर्न सफल भएका छन्, नोगेन।

व्याटल पार गरेर नकआउट चरणमा प्रवेश गरेका नोगेनले लाइभ शोको ‘डे सिक्स’ मा डेन्जरजोनको सामना गर्नुपर्यो। दार्जिलिङकी ट्रिजा प्रधानलाई भोटमा पछि पार्दै भाग्यमानी साबित भएका नोगेन लाइभ शोको ‘डे सेभेन’ मा पनि खरो प्रतिश्पर्धी तेन्जिङ डोल्मा गुरुङलाई रोकेर अघि बढे। अन्तिम ‘४’ मा आफ्नो स्थान सुरक्षित गरे। अब छ, उपाधीमाथिको प्रतिश्पर्धा।

नोगेन अर्थात् पूर्वको ‘सुर’
भ्वाइस अफ् नेपाल सिजन–५ मा नोगेन पूर्वको ‘सुर’ बनेर गुञ्जिरहेका छन्। भ्वाइसको स्टेजमा उनले पस्किरहेका ‘हाक्पारे’, ‘पालाम’ र पूर्वेली रैथाने फ्लेवर मौलिक नेपाली संगीत हुन्। जसको जरा पूर्वको भूगोल, मुन्धुम र सभ्यता हो।

मौलिक नेपाली संगीतको जरा पक्डिनु, त्यसको मर्म र मूल्यबोध गर्नु सामान्य कुरा नभएको नोगेनका संगीत गुरु बुद्धराज लिम्बू बताउछन्। उनका कोच प्रमोद खरेल मार्फत् नोगेनले आफूलाई यसमा अब्बल साबित गरेको बुद्धले बताए। ‘मौलिक नेपाली संगीतको जरा पक्डेर उदाएका एक अब्बल प्रतिभालाई दर्शकले जिताउनेमा ढुक्क छु’, बुद्धले भने ‘सुर, स्केल र मिठासमा पनि उनी अन्य फाइनलिस्टभन्दा कमजोर छैनन्, एक दशकको निरन्तरको साधनाले उनलाई यसपल्टको भ्वाइसको ट्रफि उचाल्न योग्य साबित गरेको छ।’

द भ्वाइस अफ् नेपाल, सिजन–५ का फाइनलिस्ट नोगेन लिम्बू हाङसरुम्बा।

नोगेन भने भ्वाइको फाइनलिस्ट बनेकैमा सन्तुष्ट छन्। ‘यति ठूलो स्टेजको यो स्थानसम्म पुग्छु भन्ने सोचेकै थिइँन’ नोगेनले थपे ‘भ्वाइसको उपाधि जित्ने कोसिस गर्छु, नसके आउँदा पुस्ताका लागि बाटो बन्छ।’

तर, यसको अन्तिम छिनोफानो भने शुक्रबार हुने ग्राण्ड फिनालेमा मात्र हुनेछ। भ्वाइस अफ् नेपाल सिजन–५ को ट्रफि कोच प्रमोद खरेलका फाइनलिस्ट नोगेन, कोच राजेशपायल राईका फाइनलिस्ट मकर योञ्जन, कोच उदय सोताङका फाइनलिस्ट कुमार प्रयास राई वा कोच मिलन नेवारका फाइनलिस्ट बिनोद राईको हातमा पर्ने हो, त्यो भने उतिबेलै थाहा हुनेछ।

पूर्वका ‘सुर’ नोगेनको आग्रह छ– ‘भगवानरुपी दर्शक ! यहाँसम्म पुर्याउनुभयो, अब अन्तिम खुड्किलो पनि यहाँहरुकै प्रेमको बलले पार गर्न चाहन्छु, प्लिज ! भोट गरिदिनुहोला !’