Advertisement Ad

Advertisement Ad

पाँचथरको मेची बोर्डिङमा याक्थुङ (लिम्बू) भाषा पठनपाठन सुरु

१४ माघ २०८०, पाँचथर। फिदिम–४ गढीस्थित मेची बोर्डिङ इङ्लिस स्कुलमा याक्थुङ (लिम्बू) भाषा, सिरिजंगा लिपी पठनपाठन सुरु भएको छ।

आइतबार एक कार्यक्रमकाबीच उक्त विद्यालयमा याक्थुङ (लिम्बू) भाषा, सिरिजंगा लिपी पठनपाठनको उद्घाटन गरिएको हो। किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष एवंम् त्रिभुवन युनिभर्सिटीका उपप्राध्यापक प्रेम येक्तेनले याक्थुङ (लिम्बू) भाषा, सिरिजंगा लिपी पठनपाठनको उद्घाटन गरेका थिए।

कार्यक्रममा उपप्राध्यापक येक्तेनसँगै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य दीलेन्द्र कुरुम्बाङ, फिदिम–४ का वडा अध्यक्ष उपेन्द्र लावती, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष तथा १ नं.प्रदेश पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका संयोजक डकेन्द्रसिं थेगिम, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद पाँचथरका अध्यक्ष सागर केरुङ, याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगु लगायतले शुभकामना दिएका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरुले मेची बोर्डिङ इङ्लिस स्कुलको उक्त कार्यको प्रसंशा गर्दै राज्यले याक्थुङ (लिम्बू) भाषालाई सरकारी कामकाजी भाषा बनाउनुपर्नेमा जोड दिएका थिए। यो शैक्षिक शत्रमा कक्षा ६ र ७ मा याक्थुङ (लिम्बू) भाषा, सिरिजंगा लिपी पठनपाठन गराउने र क्रमशः अन्य कक्षामा पनि बिस्तार गरिदै लगिने विद्यालयका प्रिन्सिपल सीता सेलिङले बताइन्।

भाषा शिक्षकको रुपमा अल्पाइन युनिभर्सिटी सिक्किमको लिम्बू डिपार्टमेन्टमा अध्ययनरत केसामहाङ्मा नेम्बाङलाई नियुक्त गरिएको प्रिन्सिपल सेलिङले बताइन्।