Advertisement Ad

Advertisement Ad

फिदिम बजारका ८ स्थानमा फ्रि वाइफाइ

२० माघ २०८०, पाँचथर। सदरमुकाम फिदिमका ८ स्थानमा अबदेखि निशुल्क इन्टरनेट सेवा उपभोग गर्न पाइने भएको छ।

फिदिम नगरपालिकाले फ्रि वाइफाइ जडान गरेपछि यो सुबिधा उपलब्ध भएको हो। अब फिदिम बजारको जिल्ला समन्वय समिति अगाडिको बीपी पार्क, सुम्हात्लुङ परिषर, जिल्ला अस्पताल परिषरको पार्क, आहालगैरी, गणत्रन्त्र चोक, लोकतन्त्र चोक, फिदिम माविको खेलमैदान र शनिबारेस्थित फाल्गुनन्द चोक–शिवालय मन्दिर परिषरमा निशुल्क वाइफाइ उपभोग गर्न पाइनेछ।

शुक्रबार एक कार्यक्रमकाबीच फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेले फ्रि वाइफाइ सेवाको उद्घाटन गरे। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख काफ्लेले ग्रामीण क्षेत्रबाट विभिन्न कामको सिलसिलामा सदरमुकाम आउने नागरिकको सुविधा र सर्वसाधरणलाई सूचनाको पहुँचमा जोड्न फ्रि वाइफाइ सेवा सुरु गरिएको बताए।

नगरपालिकाले यो सेवालाई आगामी दिनमा नगर क्षेत्रका अन्य महत्वपूर्ण स्थानहरुमा पनि बिस्तार गर्दै लगिने फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेले जानकारी दिए।