Advertisement Ad

पाँचथरमा संघर्ष समितिको एक दिने प्रशिक्षण सम्पन्न

Advertisement Ad

२४ माघ २०८०, पाँचथर। प्रदेश नं.१ पुनः नामाकरण संयुक्त संघर्ष समितिको एक दिने प्रशिक्षण सदरमुकाम फिदिममा सोमबार सम्पन्न भएको छ।

प्रदेशको नाम ‘कोशी’ लाई सच्याएर पहिचान र सभ्यताको आधारमा पुनः नामाकरण गरिनपर्ने माग सहित आन्दोलनरत संघर्ष समितिले आन्दोलनलाई थप व्यवस्थित बनाउन कार्यकर्तालाई प्रशिक्षण गराएको जनाएको छ। फिदिमस्थित होटल सगुनको सभाहलमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको संघर्ष समितिका पाँचथर जिल्ला संयोजक सुवाश तुम्बापो ‘काङ्सोरे’ले बताए।

प्रतिशणमा पहिचानवादी कार्यकर्तालाई किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापो, लेखक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य दीलेन्द्र कुरुम्बाङ, पहिचानवादी नेता एलबी पालुङवा, लिम्बुवान मुक्ति मोर्चा नेपालका उपाध्यक्ष शंखध्वज नेम्बाङ र जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सदस्य प्रेमराज लाओतीले प्रशिक्षण दिएका थिए।

उनीहरुले प्रशिक्षणको क्रममा पहिचानको आन्दोलन सबैको साझा आन्दोलन भएकाले एकल गोत्रीय ‘कोशी’ नाम सच्चिएर पहिचान र सभ्यताको आधारमा प्रदेशको पुनः नामाकरण नभएसम्म स्थायीत्व नपाउने बताएको संघर्ष समितिका सचिव कमल हाङसरुम्बा लिम्बूले जानकारी दिए।