Advertisement Ad

Advertisement Ad

पत्रकार महासंघको संस्थापक अध्यक्ष विवादले ‘अग्र अनुहार’ विमोचनमा लफडा

२८ माघ २०८०, काठमाडौ। संस्थापक अध्यक्षको विवादले नेपाल पत्रकार महासंघको ‘अग्र अनुहार’ पुस्तक विमोचन समारोहमा लफडा भएको छ। आज (आइतबार) महासंघको प्रदेश प्रतिष्ठान समितिले ‘अग्र अनुहार’ पुस्तक विमोचन समारोहको आयोजना गरेको थियो।

तर, उक्त पुस्तकमा पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नलेखेर कृष्णप्रसाद भट्टराई नै उल्लेख गरी इतिहास बंग्याउन खोजेको भन्दै आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले विरोध जनाएको हो। फोनिज आबद्ध पत्रकाररूले विमोचन समारोह बिथोल्नुका साथै पुस्तकसमेत च्यातेका छन्।

नेपाल पत्रकार महासंघले २०१२ सालमा नेपाल पत्रकार संघका अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ। तर, त्यसअघि २००८ सालमै सत्यनारायण बहादुर श्रेष्ठ अध्यक्ष भएको पुष्टि भइसक्दा पनि भट्टराईलाई नै संस्थापक अध्यक्ष मानिएपछि आफूहरूले विरोध जनाएको आदिवासी जनजाति पत्रकार महासंघका महासचिव मिलन लिम्बूले जानकारी दिए।

उनका अनुसार श्रेष्ठको नेतृत्वमा ९ वैशाख २००८ मा नेपाल पत्रकार संघ गठन भएको थियो। महासंघले इतिहास सच्याउन र संस्थापक अध्यक्ष टुंगो नलागेसम्म कुनै गतिविधि नगर्न यसअघि पनि पटक–पटक ध्यानाकर्षण गराएको लिम्बूले बताए। गलत तथ्यलाई स्थापित गर्ने गलत मनसायका साथ पुस्तक प्रकाशन भएको भन्दै विमोचन रोक्न महासचिव लिम्बूले शनिबारै प्रेस विज्ञप्ति जारी गरेका थिए।

(शिलापत्रबाट)