Advertisement Ad

फाल्गुनन्दमा २९ किसान सम्मानित

Advertisement Ad

१ फाल्गुन २०८०, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिकाले सोमबार २९ किसानलाई सम्मान गरेको छ ।

गाउँपालिकाले सोमबार पालिकाको कार्यालयमा सम्मान कार्यक्रमको आयोजना गरि ५० मुरिदेखि १०० मुरिसम्म धान फलाउने २७ जना र १०० मुरिदेखि माथि धान फलाउने २ जना किसान सहित २९ जना किसानलाई सम्मान गरेको हो । सम्मानित हुनेमा १६८ मुरि धान फलाएका फाल्गुनन्द-१ नवमीडाँडाका मकर बहादुर बम्जन र फाल्गुनन्द-७ आङसराङका गणेश चेम्जोङलाई जनही नगद ५० हजार रुपैंयाँ सहित सम्मान पत्रले सम्मान गरिएको हो । अन्य ५० देखि १०० मुरिसम्म धान फलाउने २७ किसानलाई प्रतिव्यक्ति नगद ३० हजार रुपैंयाँ सहित सम्मान पत्र प्रदान गरि सम्मान गरेको थियो ।

फाल्गुनन्द गाउँपालिकाको मेरुदण्ड भनेकै कृषि क्षेत्र भएकाले उत्पादनलाई वृद्धि गर्न कृषक प्रोत्साहन कार्यक्रम ल्याएको पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले बताए । आगामी वर्ष धान मात्रै नभएर अन्य नगदेबाली उत्पादन गर्ने कृषकलाई सम्मान गरिने बताए । आधुनिक कृषि प्रणालीको बिकासका निम्ति उन्नत जातका बिउको ब्यवस्थापन, कृषि सडकको बिस्तार, सिचाइको व्यवस्थापन लगायतका कार्यक्रमलाई पालिकाले पहिलो प्राथमिकतामा राखेर अघि बडिरहेको पालिका अध्यक्ष आङ्देम्बेले बताए ।

त्यस्तै कृषि व्यवसाय गर्नेलाई पालिकाले अनुदान स्वरुप लगानी गर्ने र एक घर एक सफल कृषक बनाइने पालिका उपाध्यक्ष ठाकुरसिङ नेम्बाङले बताए । सम्मानित हुने २९ किसानलाई बाजागाजा सहित बजार परिक्रमा गराई सम्मान गरिएको थियो ।